“हजुरबुवाको रेडियोबाट सुरु भएको मेरो पत्रकारीता”

शिव राज खनाल (हाल युरोप)

_बिहानको कोमल घाममा हाम्रो आँगन अझै निदाइरहेको हुन्थ्यो, तर एउटा मात्र कुरा बिहानै जाग्थ्यो—हजुरबुवाको फिलिप्स रेडियो । कालो रंगको त्यो रेडियो, जस्तो कुनै पुरानो मित्र, जसलाई हजुरबुवाले ढाकाको चेक किरमिरे कपडाले माया गरेर लपेटिदिनु भएको थियो । समाचार सुरु हुनासाथ उहाँको अनुहारमा अनुशासनको बादल उम्थिन्थ्यो । “चुप लाग, समाचार सुरु हुँदै छ,” भन्ने आवाजमा यति गहिरो आदेश हुन्थ्यो कि बाख्रा पनि आँगनमा चुप लाग्थे होलान् । बाहिरको हावा पनि त्यो क्षण हल्का मात्र सर्छ, भित्र रेडियोको स्वर घन्किन्छ, र म कोठाको कुनामा ओत लागेर त्यो स्वरलाई कानभित्रै कैद गर्न खोज्थें । त्यो मेरो लागि संसारसँगको पहिलो खुशी थियो—रेडियो ।

२०१० को एक दिन, रेडियो देउखुरीको स्टुडियोमा पहिलोपटक पाइलो टेके । चारै तिर बत्तीको किरण त्यो कोठा मलाई कुनै रहस्यमय प्रयोगशालाजस्तो लाग्यो—बाहिर दुई वटा CRT मोनिटरहरू, फेडरको जंगल भएको मिक्सर, कुनामा चुपचाप उभिएको ट्रान्समिटर भित्र अर्को झलमल्ल बलेको अर्को कोठा, कोठा भित्र टेबलमा अडिएका २ वटा माइक । चारैतिर यन्त्रहरूको बीचमा म एउटा अञ्जान यात्रु, जसलाई भाषाभन्दा ठूलो कुरा ध्वनिले सिकाउने थियो । समाचार र कार्यक्रमको बेला रातो बत्ती बल्थ्यो, र म भित्रको माइकबाट निस्कने आवाजलाई जस्तै कुनै जादुगरको मन्त्र सुन्ने बानी परेझैँ सुन्थेँ । पहिलो हप्ता मैले केवल आँखाले छुन पाएँ, हातले होइन—तर त्यो नजरमै रेडियोले मलाई आफ्नो मान्छे बनाईसकेको थियो । पछि बल्ल मैले कम्प्युटर र मिक्सर छुन पाए । मेरो नाम काम सुरुगरेको एक महिना पछि बाट मात्रै रेडियोमा बज्न थाल्यो । कार्यक्रम चलाउने संचालकले मलाइ (Sk debit) भनेर सम्बोधन गर्दथे ।

पछि त्यही रेडियो देउखुरीमा मैले “कार्यक्रम त्रिवेणी” चलाउन थालेँ—म ठिट्यालो स्वभावको प्रस्तुतकर्ता, जसले माइक्रोफोनलाई साथी बनाएको थियो । फोनमा बोल्ने स्रोता मेरा आत्मीय बन्थे—“हेलो दादा, म __प्युठानबाट”—यो आवाज सुन्नासाथ मेरो मुस्कान हावामा फैलिन्थ्यो । यो केवल प्रसारण थिएन, यो एउटा अदृश्य पुल थियो, जसले दाङ, प्युठान, अर्घाखाँचीका मनहरूलाई एउटै धुनमा बाँध्थ्यो ।

रेडियो हाइबेमा पुग्दा मेरो दिनको मुटु बन्थ्यो—दिउँसो १ बजेको “टी-फिन टाइम”। त्यो कार्यक्रम यति लोकप्रिय भयो कि आसपासका जिल्लामा मात्र होइन, अन्य रेडियो फ्रीक्वयन्सीको हावामा पनि घन्किन थाल्यो । दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, पाल्पा, रुपन्देही, अर्घाखाँची—यी सबै ठाउँका स्वरहरू स्टुडियोमा आइपुग्थे, र म हाँस्दै, गफिँदै, तिनलाई संसारसँग बाँड्थेँ ।
तर समय सधैं रमाइलोमा मात्र बग्दैन । म प्राविधिकबाट स्टेशन म्यानेजर बनेँ, गर्व त आयो, तर काँधमा जिम्मेवारीको भारी पनि आयो । बजार सानो, प्रतिस्पर्धा ठूलो, र रेडियोको पेट भर्ने एउटा मात्र उपाय—विज्ञापन । एक दिन, बजारको सबैभन्दा ठूलो पसलमा पुगेँ, विज्ञापनको प्रस्ताव लिएर । दुकानदारले हाँस्दै भने, “हामी त अर्को रेडियोमा दिन्छौं।” त्यो हाँसोले मुनि केही पलका लागि मनै पोल्यो, तर भोलिपल्ट फेरि बिहानै अर्को बाटो हानें—किनभने रेडियोको आवाज रोकिनु भनेको, मेरो सास रोकिनु थियो ।

रेडियो संगै पत्रपत्रिकामा पहिलोपटक आफ्नो नाम छापिएको दिन अझै टड्कारो छ। गोरक्ष राष्ट्रिय दैनिक हातमा लिएर, म एकोहोरो आफ्नै नाम पढिरहेँ । त्यो अक्षरहरूमा केवल स्याही थिएन, त्यो मेरो सपना थियो, जो अब कालोपत्रमा स्थायी भएको थियो । अनलाइन पत्रकारिताले त झन् समयको बन्धन तोडिदियो—समाचार तुरुन्तै संसारभर पुर्‍याउने जादु, तर सँगै घडीको काँटासँग निरन्तरको दौड । रेडियो र पत्रिकापछि मेरो यात्रा टेलिभिजनतर्फ मोडियो । बुटवलबाट प्रसारित हुने राज्य टेलिभिजनमा रिपोर्ट पठाउने जिम्मेवारी पाए, अनि पछि ग्यालेक्सी 4K मा दाङको रिपोर्टरको रूपमा काम गर्ने अवसर—पहिलोपटक स्क्रिनमा आफ्नै नामसहितको रिपोर्ट देख्दा, मनमा गर्वको लहर आयो । टिभीमा भने काम केवल शब्द र आवाजमै सिमित थिएन—तस्बिर, रंग, र दृश्यको जिम्मेवारी थियो । कहिले फुटेज नपुग्ने, कहिले स्क्रिप्ट फेरि लेख्ने, कहिले फिल्डमा हिँडिरहने—तर हरेक पटक प्रसारण हेर्दा त्यो थकाइ बिर्सिन्थेँ ।

यहाँ पुग्दा सम्म मेरो काँधमा चारवटा जिम्मेवारी थिए— रेडियो, दुई वटा टिभी, र एक पत्रिका सबै काम एकै दिन गर्नुपर्थ्यो । बिहान क्यामेरा बोकेर बाइकमा चिप्ला बाटाहरू, टाढाका गाउँ कुनाकन्दरासम्म पुगेको धुलाम्मे यात्रा, बेलुकी स्क्रिप्ट टाइप गर्दै झिम्किँदो आँखा—यी सबैको स्वाद गाह्रो मात्र होइन, मिठो पनि थियो । किनभने अर्को बिहान टिभीमा मेरो रिपोर्ट देखिन्थ्यो, पत्रिकामा समाचार छापिन्थ्यो, र रेडियोमा मेरो आवाज घन्किन्थ्यो ।

आज म युरोपमा छु । यहाँको आकाश फरक, घडी फरक, तर मुटुको ताल अझै नेपालकै समाचारसँग धड्किन्छ । फोनको स्क्रिनमा देखिन्छ— सामाजिक संजाल मार्फत म स्रोत खोज्छु, कल गर्छु, लेख्छु । यहाँको हावामा युरोपको गन्ध छ, तर मेरो सासमा अझै नेपालको माटो, नेपालकै स्टुडियोको गन्ध मिसिएको छ । पत्रकारिता अब मेरो पेशा मात्र होइन, यो मेरो रक्तस्राव हो—अदृश्य तर निरन्तर बगिरहेको छ ।
युरोपको भोगाइ अर्कोपटक __

Leave a Reply

Your email address will not be published. Required fields are marked *