अन्तर्राष्ट्रिय युवा दिवसमा कविता प्रतियोगिता

घरसञ्चार
देउखुरी । लमहीमा बिद्यालय/बिद्यालय बिच कबिता प्रतयोगिताको आयोजना गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।
निरासिज फाउन्डेशन नेपाल, एम्नेष्टी इन्टरनेशनल र लमही नगरपालिकाको संयुक्त आयोजनामा कविता प्रतियोगिताको आयोजना गरि मनाईएको हो । लमही नगरपालिका अन्तरगतका बिद्यालयहरु बिच प्रतिष्प्रधा गराईएको हो । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो रचनात्मकता, भाषिक अभिव्यक्ति र आत्मविश्वासको प्रदर्शन गर्दै प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा जईन्द्र माबिकी शकुन्तला गौतमले प्रथम स्थान हासिल गरिन् । त्यस्तै द्वितीय स्थान गोरखा माबिकी विविका खत्रीले प्राप्त गरिन् भने तृतीय स्थान ज्योतीष्मती विद्यापिठकी रचना पन्थी भईन । विजयी विद्यार्थीहरूलाई आयोजक संस्थाले सम्मान गरेको थियो ।

निरासिज फाउन्डेसन नेपालकि अध्यक्ष निर्मला चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत नारायण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि शर्माले युवा दिवसको महत्वबारे चर्चा गर्दै कविता, साहित्य र कला समाजको परिवर्तनकारी शक्ति भएको बताए । उनले युवाहरूलाई अध्ययनसँगै सिर्जनात्मक क्षेत्रमा पनि सक्रिय हुन आग्रह गरे । कविता जस्तो साहित्यिक साधनले भावनात्मक चेतना र सामाजिक जागरण फैलाउन ठूलो योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा निरासिज फाउण्डेसनकि अध्यक्ष निर्मला चौधरीले सिर्जनशीलतालाई उचित अवसर प्रदान गर्ने खालका प्रतियोगिताहरू निरन्तर आयोजना गरिनुपर्ने आवश्यकता औंल्याईन । “युवाहरूमा लुकेका प्रतिभालाई पहिचान र प्रोत्साहन दिने प्रयासका रूपमा यो कार्यक्रम निकै महत्वपूर्ण छ,” उनले भने ।
प्रतियोगिताको निर्णायकको भुमिका लमही नगरपालिका शिक्षा शाखाकि अम्बिका शर्मा र साहित्यिक मञ्चका अध्यक्ष निम बहादुर थापाले निभाएका थिए । उनीहरूले कविता मूल्यांकन गर्दा सृजनात्मकता, भाव अभिव्यक्ति, भाषा प्रयोग र प्रस्तुतिकरणलाई मुख्य आधार बनाएका थिए । कविता प्रस्तुतीका क्रममा युवाहरूले समाजका विभिन्न पक्षहरू शिक्षा, लैङ्गिक समानता, वातावरण संरक्षण, शान्ति, प्रेम र मानवीय मूल्यहरूबारे सशक्त सन्देश दिइरहेका थिए । कार्यक्रमको सहजिकरण निरासिज फाउन्डेशनका संस्थापक तथा एम्नेष्टी इन्टरनेशनलका सिजन केसीले गरेका थिए ।