दलित अधिकारका लागि गैरदलितको साथ र सहयोग अपरिहार्य: अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगर

सिसहनियाँ, २५ साउन । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले दलित समुदायप्रति हुने विभेद कानुनी रूपमा अन्त्य भएपनि व्यवहारमा अझै पूर्णरूपमा अन्त्य भईनसकेको बताएका छन् । उनले दलित अधिकार र मुक्तिका लागि गैरदलित समुदायको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।

आइतबार राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँमा निर्माण गरिएको नेपाल राष्ट्रिय दलित सञ्जाल राप्तीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष विष्टले विपन्न दलित समुदायलाई राज्यबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले भवनलाई विभिन्न गतिविधि सञ्चालनका लागि प्रयोग गर्न सकिने बताउँदै, दलित युवाहरूले परम्परागत सीप र कलाको जगेर्ना गर्दै प्रवर्द्धन गर्नुपर्ने र सिकेका सीपलाई व्यावसायिकरण गर्न आवश्यक रहेकोमा जोड दिए । साथै, अध्यक्ष विष्टले समग्र पालिकाको समृद्धि र विकासमा दलित समुदायको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । राप्ती गाउँपालिकाको ७ लाख रुपैयाँ र बाँकी २ लाख जनश्रमदानमार्फत गरी कुल ९ लाख रुपैयाँ लागतमा निर्माण भएको दुई कोठे पक्की भवनको उद्घाटन कार्यक्रममा सञ्जालका अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता तथा अध्यक्ष विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य सुरेश कुमार चौधरी, कार्यपालिका सदस्यहरू रणबहादुर पुजाली र संजिप छिनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, राप्ती केरा प्रवर्द्धन समूहका अध्यक्ष रणप्रसाद सुवेदीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सञ्जालका सल्लाहकार इन्द्रजित गाेतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव रामकृष्ण सुनदासले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *