भूमि स्वामित्व सुनिश्चित गर्दै गढवामा लालपुर्जा वितरण

आलोक भावुक
गढवा, २३ श्रावण । गढवा गाउँपालिकाले शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी वडा नम्बर २ डाँडागाउँलगायतका बस्तीमा दशकौंदेखि बसोबास गर्दै आएका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गरेको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यमा लालपुर्जा वितरण गरिएको हो। यस अवसरमा गढवा–२ का १० जना नागरिकलाई जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपूर्जा हस्तान्तरण गरिएको हो । लामो समयदेखि लालपूर्जा पाउने आशा राख्दै पनि राजनीतिक आश्वासन पुरा नहुँदा निराश भएका स्थानीयवासी यसपटक पूर्जा पाउँदा अत्यन्तै खुसी देखिन्थे । गढवा–२ डाँडागाउँकी तारा पुनले “छोरा–नातिको पालासम्म आइहाल्छ कि भन्ने मात्र सोचिएको थियो, आज बाजेको पालादेखि जोतेको जग्गाको पूर्जा हातमा पाउँदा अति खुसी छु,” भन्दै भावुकता व्यक्त गरिन् । सोही बस्तीकी पवित्रा शाह र पदम प्रसाद शाहले पनि १६२२.४६ वर्गमिटर क्षेत्रफल भएको जग्गाको लालपूर्जा पाउँदा हर्ष व्यक्त गरे । गढवा–२ की टुल्की विश्वकर्माले नेताहरूले चुनाव आउँदा पूर्जा दिन्छौं भनेर आश्वासन दिने तर पटक–पटक माग्दा पनि दिन नसकेको सुनाउदै यसरी पाउँछु भन्ने विश्वास नै नलागेको बताईन ।

लालपूर्जा नहुँदा बैंकबाट ऋण लिन नसक्ने, बिजुली जडानमा समस्या हुने र सामाजिक रूपमा समेत अपहेलनामा पर्नु परेको पीडा मंगलप्रसाद चौधरीले सुनाए । “अब त पूर्जा पायौं, आनन्दको निद्रा लाग्छ,” चौधरीले खुशी साटे । यस पटक पूर्जा प्राप्त गर्नेहरूमा मंगलप्रसाद चौधरी (१०८६.०५ वर्गमिटर), रामबहादुर चौधरी (५४३.५ वर्गमिटर), हिरालाल बिक (१९९६.३८ वर्गमिटर), बिच्छु कामी (१२७५.४० वर्गमिटर), सुइटी विश्वकर्मा (१७४.५८ वर्गमिटर), पदम प्रसाद शाह (१६२२.४६ वर्गमिटर), सिता बैजाली घर्ती (१३३१.२६ वर्गमिटर), पूर्ण पुन मगर (८७०.१४ वर्गमिटर) र तारा पुन मगर (१९९७.०५ वर्गमिटर) रहेका छन् ।
कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले चालु आर्थिक वर्षमै देशका ७७ वटै जिल्लामा ५ लाख भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए । पूर्जा वितरणको प्रक्रियामा केही कानूनी अड्चन आएपनि भूमिसम्बन्धी ऐन संशोधन भइसकेको र ती समस्या समाधान हुँदै जाने उनको भनाइ छ । भूमिसम्बन्धी अध्यादेश राजनीतिक दलहरूले मिलेर असफल बनाएको आरोप लगाउँदै उहांले समस्या समाधानका लागि सबै दलको बराबरी दायित्व रहेको उल्लेख गर्नु भयो। अध्यक्ष रिजालका अनुसार आउने दुई वर्षभित्र सम्पूर्ण भूमिसम्बन्धी काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतका अनुसार जिल्लाका केही पालिकामा पहिलो चरणको पूर्जा वितरण भइसकेको छ भने अधिकांश पालिकामा जग्गा नापतौल र अभिलेख तयार भई अन्तिम तयारीको चरणमा पुगेको छ । उनले राजनीतिक हस्तक्षेपलाई पूर्जा वितरणको मुख्य अवरोध बताउँदै यसलाई ‘फोहोरी राजनीति’ को संज्ञा दिए । बस्नेतका अनुसार, बिगतका आयोगका गतिविधि जटिल भए पनि आफ्नो नेतृत्वमा निरन्तर काम गरी लालपूर्जा वितरणको अभियान अघि बढाउन सफल भएको बताए ।
विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले वर्तमान भूमि ऐन भूमिहिन दलित र सुकुम्बासीको पक्षमा संशोधन हुनुपर्नेमा जोड दिए । “भू–माफियाको हातमा जग्गा जाने खालको नीति अस्वीकार्य छ, राजनीतिक दल एक भएर समाधानमा लाग्नुपर्छ,” थारुले भने । भूमि समस्याको स्थायी समाधानका लागि सरकार इमानदार भएर अघि बढ्नुपर्ने सुझाव समेत दिए ।कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवामा १ हजार ३ सय भूमिहिन दलित तथा सुकुम्बासी र करिब ६ हजार अव्यवस्थित बसोबासी रहेको बताए । कानूनी समस्या नभएका बस्तीमा क्रमशः पूर्जा वितरण भइरहेको र आयोग विघटनको बेला पनि पालिकाले आन्तरिक तयारी निरन्तर अघि बढाएको उनले बताए ।
वन क्षेत्रमा बसोबास गर्ने भूमिहिनलाई तत्काल पूर्जा वितरण गर्न कानूनी अड्चन रहे पनि ऐलानी लगायत समस्या नभएका क्षेत्रमा बासोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखी वितरण सुरु गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । भूमी संयोजक सञ्जित पौडेलले २०७५ सालदेखि सुरु भएको यो अभियानमा स्थानीय सरकारसँगै सहजिकरण समिति, आत्मनिर्भर सेवा केन्द्र, संयुक्त राष्ट्रसंघ मानव बसोवास कार्यक्रम लगायतका संस्थाहरूको प्राविधिक सहयोग रहेको बताए । “यो केवल कागजको पूर्जा मात्र होइन, भूमिहिनको जीवनमा कानूनी हैसियत र सामाजिक गरिमा फर्काउने आधार हो,” पौडेलले भने । कार्यक्रममा जग्गा नापतौलदेखि पूर्जा वितरणसम्म सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका गरेका थिए ।