पालिकाले छापेको किताबमा त्रुटी, बिद्यार्थी अन्यौलमा

शिव राज खनाल
दाङ । लमही नगरपालिकाले कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि प्रकाशित गरेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो लमही’ मा व्याकरणीय त्रुटि भेटिएको छ ।
शिक्षण-शिक्षा सुधारको नाममा प्रकाशन गरिएको यस पुस्तकमा प्रयोग भएका कतिपय वाक्य, भाषा, स्थान र व्याकरणको दृष्टिकोणले त्रुटि रहेको शिक्षक तथा अभिभावकहरूले गुणासो गरेका छन् । पुस्तकको एक अंशमा लेखिएको छ-“गरिएको हो भनाइ रहेको छ”-जुन नेपाली व्याकरण अनुसार अशुद्ध वाक्य हो । भाषाविद्हरूका अनुसार उक्त वाक्यले न त स्पष्ट सन्देश दिन्छ, न त शुद्ध भाषिक स्वरूपको पालना गर्छ । यस वाक्यको स्थानमा “गरिएको हो भन्ने भनाइ पाइन्छ” वा “गरिएको हो भन्ने विश्वास रहिआएको छ” भन्नु उपयुक्त हुने बताइएको छ। यो त एउटा उदाहरण मात्रै हो ।

शिक्षक र भाषा विज्ञहरूले विद्यालयस्तरको पाठ्यपुस्तकमा यस्ता त्रुटि हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । लमहीका एक शिक्षकले भने, “विद्यार्थीहरू भाषा सिक्ने प्रारम्भिक चरणमा छन् । यस्ता त्रुटिपूर्ण पाठ्यपुस्तकले उनीहरूको भाषिक क्षमता कमजोर बनाउने सम्भावना हुन्छ ।” सिकाईका चरणमा रहेका बिद्यार्थीहरु अशुद्धताका कारण अन्यौलमा परेका छन् । लमही नगरपालिकाको समन्वयमा तयार पारिएको यस पुस्तकमा लमही क्षेत्रका ९ वटा वडाहरू, बस्तीहरू, र धार्मिक स्थलहरूको विवरण पनि समावेश गरिएको छ । तर, सामग्रीमा पालिका भित्रका स्थानको नाम नै फरक लेखिएको छ जुन पालिका अन्तर्गत पर्दैनन् ।

यता, लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले स्थानिय पाठ्यक्रमको विकास पालिकाका लागि एक नयाँ अभ्यास भएको बताईन् । पहिलो संस्करणमा केही कमजोरीहरू देखिनु स्वाभाविक भएको बताउँदै उनले लेखाईमा अशुद्धता देखिएको स्विकारिन् । कार्यान्वयनको क्रममा स्कुलबाट पनि केही सुझावहरु आउछन अनि सबैलाई समेटेर संसोधन हुन्छ उनले थपिन । भाषामा शुद्धता नभएको उक्त पुस्तकहरु सामुदायिक बिद्यालय लाई निशुल्क बितरण गरिएको छ भने संस्थागत विद्यालयलाई कक्षा ८ को १८० र कक्षा ५ को १६० रुपैया दररेट शुल्क निर्धारण गरि बितरण गरिएको छ ।