राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई

तुल बहादुर कवँर मगर

मसुरीया, २० साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सुनुवाइ कार्यक्रम वडा नं. २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण, एकतानगरमा भएको हो ।गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यबारे जानकारी गराउँदै, सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत्, विपद् व्यवस्थापन, न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए । उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरिसकेको उल्लेख गर्दै समृद्धि, विकास र सेवा प्रवाहमा निरन्तर क्रियाशील रहेको बताए ।
उनले भने, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ। रचनात्मक सुझाव, सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ।”


अध्यक्ष विष्टले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउँदै, दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिए । त्यस्तै, गाउँपालिकाको समृद्धिका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर पहल र समन्वय भइरहेको पनि उनले बताए । कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन अधिकारीले गरेका थिए । पालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *