प्यूठानमा दुर्लभ केरा, एउटै बोटमा दुई थाम

शिव राज खनाल

प्यूठान । प्युठान नगरपालिका–१ का कृषक तेजबहादुर केसीको मेहनतले एक अनौठो र दुर्लभ नतिजा दिएको छ ।

उनले लगाएको एउटा केराको बोटमा  दुईवटा थाममा केरा फल्दा स्थानीयबासी अचम्मित भएका छन् । सामान्यतया केराको बोटमा एक मात्र थाम (घरी) हुन्छ, जसमा केरा फल्ने गर्छ । तर तेजबहादुर केसीको बगैंचामा देखिएको बोटमा दुई घरी केराहरू लटरम्म फलेको छ । उक्त बोटले एउटै समय दुई स्थानबाट केरा फल्नु अत्यन्त दुर्लभ घटना हो, जुन बिरलै मात्र देखिने कृषिविज्ञहरू बताउँछन् । “म खेतीपातीमै रमाउँछु । राम्रो मलजल, स्याहार गरेकै कारण होला, यस्तो नतिजा आएको,” किसान केसीले भने, “पहिलोपटक यस्तो देखेको छु ।”

कृषिविज्ञहरूको अनुसार यस्तो घटना विशेषतः जीन सम्बन्धी रूपान्तरण, वातावरणीय प्रभाव वा बोटको जैविक संरचनाको कारणले हुन सक्छ । वैज्ञानिक हिसाबले हेर्दा यस्ता घटनाहरू कृषि अनुसन्धानका लागि उपयोगी र अध्ययनको विषय बन्न सक्छन् । स्थानीय तहका कृषकहरूका लागि यो उदाहरण प्रेरणादायी बनेको छ । मेहनत, समर्पण र सटिक प्रविधिको प्रयोगले खेतीमा कस्तो अचम्मको नतिजा ल्याउन सकिन्छ भन्ने पुष्टि किसान केसीको सफलताले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *