दाङमा कुकुरको मृत्युपछि किरिया

घरसञ्चार
दाङ । मानिसको मृत्यु भएपछि किरिया गरेको त सबैलाई थाहा छ तर कुकुरको पनि किरिया हुन्छ! भन्दा अचम्म लाग्नु स्वभाविक हो ।
दाङको तुलसीपुरमा एकजना ब्यक्तिले आफुले पालेको कुकुरको मृत्यु पश्चात् मानिसको जस्तै क्रिया गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरको मृत्यु भएपछि क्रिया गरेका हुन । नौ वर्षको उमेरमा साउन ६ गते मृत्यु भएको कुकुरको पौडेलले ९ दिनसम्म किरिया गरी अन्तिम संस्कार सम्पन्न गरेका छन् ।
‘मानिसको आत्मीयता मानिससँग मात्रै हुँदैन, घरपालुवा जनावरसँग पनि हुन्छ’, भन्ने सन्देश उनको कर्मले दिएको छ । आफ्नै सन्तानका रुपमा हुर्काएको कुकुरको मृत्यु भएपछि मर्माहत भएर किरिया गरेको पौडेलले बताए ।
वडा नम्बर १७ का सदस्यसमेत रहेका पौडेलले नवौं दिनमा आफन्तहरुलाई बोलाएर कुकुरको श्रद्धाञ्जली सभासमेत गरेका छन् । कुकुरको रमी नाम थियो । उनले कुकुरलाई सन्तानको रूपमा माया गरेर हुर्काएका थिए । यस घटनाले मानिस र जनावरबीचको गहिरो सम्बन्ध र संवेदनशीलता दर्शाउँछ ।