देउखुरीमा सर्पको टोकाईबाट दुईजना घाइते

शिवु खनाल
दाङ, १५ साउन । देउखुरीमा विषालु सर्पको टोकाईबाट दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ फोहोरा निवासी ४ वर्षीय कार्तिक कुमाल र वडा नम्बर ५ निवासी २५ वर्षीय बिन्दु यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । उनका अनुसार बिहिवार विहान करिब सात बजे घरमा सुति रहेको अवस्थामा कुमाललाई सर्पले दाहिने हातको हत्केलामा डस्दा गम्भिर घाईते भएका छन् ।
कुमाललाई उपचारको लागी लमही स्थित सर्पदंश उपचार केन्द्रमा लगेपनि त्यहाँ सम्भब नभएपछि घोराही रेफर गरिएको थियो । हाल उनको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यस्तै यादबलाई बुधवार राती ११ बजे घर भित्रै बिषालु सर्पले दाहिने हातको बुढी औलामा डस्दा घाइते भएकि छिन । सर्पले डसे लगत्तै उपचारको लागि गढवा सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । यादवलको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी प्रमुख बमले बताए ।
देउखुरीमा सर्पको टोकाईबाट हुने बिरामीहरुलाई मध्यनजर गरि दुई स्थानिय तहले सर्पदंश उपचार केन्द्र संचालनमा ल्याएका छन् । लमही र गढवामा सर्पदंश उपचार केन्द्र संचालन अबस्थामा छन् । तर छिटपुट बिरामी बाहेक अन्यलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । देउखुरीका दुई सर्पदंश उपचार केन्द्रमा पर्याप्त सुबिधा नहुँदा अनेत्र रेफर गर्नुपर्ने बाध्यता भएको हो । गम्भीर प्रकृतीको बिरामीका लागि आइसियू र भेन्टिलेटर आबस्यक पर्छ । तर दुबै उपचार केन्द्रमा यस्ता गम्भीर प्रकृतीका बिरामीका लागि पर्याप्त सुबिधा नहुँदा थप समस्या बनेको स्थानिय पवन शर्मा रिजालले बताए ।
तथ्याङ्क अनुसार, देउखुरी क्षेत्रमा मात्र वार्षिक ५० भन्दा बढी बिरामीलाई आपतकालीन आइसीयू आवश्यक पर्छ, तर पर्याप्त सुविधा नहुँदा धेरैजसो बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता जिवित छ । बाहिर जानुपर्ने बाध्यताले अकालमै मृत्यु भएका उदाहरण हरु थुप्रै छन । यसर्थ पर्याप्त सुबिधाका लागि स्थानिय तहहरु गम्भीर बन्नुपर्ने आबस्यक देखिन्छ ।