सर्लाहीमा घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

घरसञ्चार

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा आँगनमा खेलिरहेका एक बालकको च्यापिएर मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-६ कामद टोलस्थित नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४ बजे अचानक भत्किएको थियो । सोही घरको आँगनमा खेलिरहेका बालक अरुण माझीलाई भत्किएको घरले पुरेको थियो । जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ नजिकैको प्रहरी चौकी नाढीमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबीसहित उद्धार टोली परिचालन गरिएको थियो । प्रहरीले भत्किएको संरचना हटाउने र अन्य कोही व्यक्ति च्यापिएको हुन सक्ने आशंकामा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ । घटनास्थलमा अहिले उद्धारकार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी नाढीमनबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *