माओवादी केन्द्र राप्तीले गय्रो पुनको सम्झनामा श्रद्धाञ्जली सभा

तुलबहादुर कँवर मगर

दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले पार्टी सदस्य स्वर्गीय खम बहादुर पुन मगरको सातौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शुक्रबार राप्ती गाउँपालिका वडा नं.३, नयाँबस्तीस्थित स्व. पुनको निवासमा आयोजित कार्यक्रममा पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षतामा तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टोपबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि कार्कीले स्व. पुनको निधनले पार्टीले एक निष्ठावान्, इमानदार र जनसमर्पित कार्यकर्ता गुमाएको उल्लेख गर्दै उहाँले पार्टी र जनताको हितमा पुर्‍याएका योगदानहरूको स्मरण गरे । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य प्रकाश विष्टले स्व. पुनलाई सरल, अनुशासित र समर्पित कार्यकर्ता भएको बताउदै उनको निधनप्रति दुःख व्यक्त गरे ।


स्व. खम बहादुर पुन मगरको यही श्रावण ३ गते मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रम सञ्चालन नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीका सचिव जगत थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *