लमही-७ को तिज मिलन कार्यक्रम सम्पन्न, आत्मीयता र भावनात्मक सम्बन्धको सन्देश

घरसञ्चार
देउखुरी । हरितालिका तिजको अवसर पारेर लमही नगरपालिका वडा नम्बर ७ को तिज विशेष कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग तथा सहयोगी महिला सञ्जाल लमही–७ को आयोजनामा गरिएको कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रमले सांस्कृतिक परम्परा, महिलाको सामाजिक एकता र आपसी सद्भावलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान गरेको आयोजकले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले महिलाले सांस्कृतिक चाडपर्व मात्र नभई सामाजिक नेतृत्वमा पनि सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिईन । उनले भनिन्, “तिज हाम्रो संस्कृतिको महत्वपूर्ण पर्व हो । यसले महिलाबीचको आत्मीयता, साझा भावनात्मक सम्बन्ध र समाजिक सन्देशलाई बल दिन्छ ।”

विशिष्ट अतिथि तथा लमही–७ का वडाध्यक्ष एवम् नगर प्रवक्ता मोहन गिरीले तिज जस्तो सांस्कृतिक पर्वलाई आधुनिकताको नाममा केवल मनोरञ्जनका रूपमा मात्र नभई यसको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । उनले वडा कार्यालय सदैव यस्ता सांस्कृतिक कार्यक्रमको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरे । वडाध्यक्ष गिरीले वडा कार्यालय र महिला सञ्जालबीचको सहकार्यले वडाभित्र महिलाको हक, अधिकार र सीप विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताए ।

कार्यक्रमको अध्यक्षता सहयोगी महिला समूहकी अध्यक्ष शोभा श्रेष्ठले गरेकि थिईन । कार्यक्रममा बोल्दै उनले महिलाको एकता, आत्मनिर्भरता र सांस्कृतिक चेतनाको प्रसार नै समूहको मुख्य उद्देश्य रहेको बताउँदै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम निरन्तर गर्ने जानकारी दिए । कार्यक्रममा दुई सयभन्दा बढी महिला दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता थियो । रंगीचंगी पोशाकमा सजिएका महिलाले तिजका गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए । सहभागी महिलाले आफ्ना मनका खुशीका साथसाथै सामाजिक सन्देश प्रकट गर्ने अवसर पाएका थिए । कार्यक्रममा महिला सशक्तीकरण, स्थानीय विकास र एकताका पक्षमा विभिन्न वक्ताले विचार राखेका थिए ।

समग्रमा, तिज विशेष कार्यक्रमले लमही–७ का महिलाबीच आत्मीयता र एकता बढाउनुका साथै संस्कृति जगेर्ना र सामाजिक सद्भावलाई मजबुत बनाएको छ । आयोजकहरूले यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रमिला चौधरीले गरेकि थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *