माछालाई दाना खुवाउँदै थिइन् ६ वर्षीया कृतिका, आफैँ तालमा डुबेर गुमाइन् ज्यान
घरसञ्चार
दाङ । माछालाई दाना खुवाउने क्रममा अचानक तालमा खसेकी ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा भएको दुःखद घटनाले पिकनिक मनाउन पुगेको परिवारमा शोक छाएको छ ।
पानीमा डुबेर गढवा गाउँपालिका-२, कोठरी निवासी चुन्निलाल चौधरीकी ६ वर्षीया छोरी कृतिका चौधरीको ज्यान गएको छ । प्रहरीका अनुसार आज मंगलबार दिउँसो करिब १ः५० बजे अभिभावकसँग पिकनिक खान जखेरा ताल पुगेकी कृतिका तालमा रहेका माछालाई दाना खुवाइरहेकी थिइन् । सोही क्रममा अचानक उनी तालको पानीमा खसेकी थिइन् ।
तालमा खसेपछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको वडा प्रहरी लमहीले जनाएको छ । घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सानै उमेरमा भएको यस दुःखद घटनाले परिवार तथा आफन्तजनलाई स्तब्ध बनाएको छ ।



