लमहीमा ‘घर संसार फुटसल कप’ हुँदै, विजेताले एक लाख पाउने

घरसञ्चार

दाङ । विजया दशमीको अवसर पारेर दाङ लमही स्थित सिटी क्लबले लमहीमा ‘घर संसार फुटसल कप २०८३’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता असोज २३ देखि २५ गतेसम्म लमहीस्थित फ्रेन्ड्स फुटसलमा सञ्चालन हुने क्लबले जनाएको छ ।

क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै लमही क्षेत्रमा फुटबल तथा फुटसल खेलको विकास गर्ने, स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । सात खेलाडी सहभागी हुने खुला फुटसल प्रतियोगितामा देशका विभिन्न स्थान तथा क्लबबाट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायतका विधामा पनि पुरस्कार तथा आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको टोली दर्ता शुल्क आठ हजार रुपैयाँ निर्धारण गरिएको छ । टोली दर्ताको अन्तिम मिति असोज १८ गते तोकिएको क्लबले जानकारी दिएको छ । देशभरका इच्छुक फुटसल टोलीलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ । लमही सिटी क्लबका अध्यक्ष गम्भीर श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लमही नगरपालिका-५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार सुदिप पाण्डेले गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा लमही-५ स्थित घर संसार प्रालि जोडिएको छ । आयोजकले प्रतियोगितालाई केवल खेल प्रतिस्पर्धाका रूपमा मात्र नभई स्थानीय खेलाडीलाई एउटै मञ्चमा जोड्ने, नयाँ प्रतिभाको पहिचान गर्ने र लमही क्षेत्रमा फुटबल संस्कृतिको विकास गर्ने अभियानका रूपमा लिएको जनाएको छ । क्लबले प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक, साझेदार, प्रायोजक, सहयोगी संस्था, स्थानीय व्यवसायी, खेलाडी तथा शुभेच्छुकहरूको सहयोग महत्वपूर्ण हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *