मानवीय उदाहरण : कर्री सामुदायिक वनद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
घरसञ्चार
दाङ । लमही नगरपालिका-७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहले क्यान्सर रोगबाट पीडित देवा वलीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
लमही-७ कप्तानगञ्ज निवासी वली केही समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका छन् । उपचारका क्रममा रहेका उनलाई सान्त्वना तथा सहयोगस्वरूप कर्री सामुदायिक वन उपभोक्ता समूहले ३२ हजार रुपैयाँ प्रदान गरेको हो । समूहका अध्यक्ष किशोरकुमार घर्ती मगर नेतृत्वको टोलीले वलीको निवासमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
सो अवसरमा अध्यक्ष घर्ती मगरले विपद् र दुःखको समयमा संस्थाले आफ्नो पदाधिकारी तथा उपभोक्तासँग ऐक्यबद्धता जनाउनु दायित्व भएको बताउँदै वलीको शीघ्र स्वास्थ्यलाभको कामना गरे । कर्री सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष समेत रहेकी वलीलाई उपचारमा केही राहत पुग्ने विश्वासका साथ सहयोग गरिएको समूहले जनाएको छ । स्थानीयवासीले पनि यस्तो मानवीय कार्यले आपसी सद्भाव र सहयोगको भावना थप मजबुत बनाउने बताएका छन् ।






