केकभन्दा ठूलो उपहारः जन्मदिनमा रक्तदान गर्दै जीवन बचाउने सन्देश

शिबराज खनाल

दाङ । जन्मदिनलाई केवल केक काट्ने र शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा नभई सामाजिक सेवासँग जोड्दै लमहीका प्रतिष्ठित ब्यबसायी लुमाकान्त बोहोराले प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा उनले लमहीस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रक्तदान गर्दै मानवताको सन्देश प्रवाह गरेका हुन् । रक्तदानपछि प्रतिक्रिया दिँदै बोहोराले रगत अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीहरूको जीवन बचाउन आफ्नो तर्फबाट सानो योगदान दिन पाएकोमा खुसी व्यक्त गरे । उनले जन्मदिन, विवाह वर्षगाँठ तथा अन्य व्यक्तिगत खुसीका अवसरहरूलाई सामाजिक सेवासँग जोड्न सके समाजमा सकारात्मक सोच र सहयोगको भावना विकास हुने बताए । “रक्तदान जीवनदान हो । हाम्रो सानो प्रयासले पनि कसैको अमूल्य जीवन बचाउन सक्छ,” उनले भने, “स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गरेर मानवीय सेवामा योगदान पुर्‍याउनुपर्छ ।”

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लमहीमा गरिएको उक्त रक्तदानले मानव सेवाप्रतिको जिम्मेवारी र सामाजिक चेतनाको सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन् । पछिल्लो समय युवापुस्ताले जन्मदिनजस्ता व्यक्तिगत उत्सवलाई समाजसेवासँग जोड्दै सकारात्मक अभियानको सुरुआत गरिरहेका बेला बोहोराको यो कार्य उदाहरणीय बनेको छ । रक्तदान जस्तो पुण्य कार्यमार्फत आफ्नो जन्मदिन मनाएका बोहोराले समाजमा सहयोग, सद्भाव, मानवता र सेवाभावको प्रेरणादायी सन्देश प्रवाह गरेका छन् । सामाजिक ब्यक्तित्वका रुपमा परिचित बोहरा देउखुरी उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य समेत हुन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *