बनघुश्री-हसनापुर खानेपानी आयोजना सम्पन्न पश्चात् समितीलाई हस्तान्त्रण
टेकबहादुर पुन
देउखुरी । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा खानेपानी मन्त्रालयको मातहतमा रहेको खानेपानी तथा सरसफाइ कार्यालय दाङद्वारा सञ्चालित बनघुश्री-हसनापुर खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भई उपभोक्ता समितिलाई स्वामित्वपत्र (लालपुर्जा) हस्तान्तरण गरिएको छ ।
लमही नगरपालिका-७ हसनापुरमा सञ्चालित उक्त आयोजना आर्थिक वर्ष २०७६/०७७ मा सुरु भई २०८१/०८२ मा सम्पन्न भएको हो । आयोजनाबाट ५७५ जनसंख्या लाभान्वित भएका छन् भने ११० घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । आयोजनाको कुल लागत अनुमान २ करोड १९ लाख १७ हजार ६ सय १२ रुपैयाँ रहेकोमा १ करोड ८८ लाख ८३ हजार ५ सय ८० रुपैयाँ खर्च भएको छ । लागतमा प्रदेश सरकारबाट १ करोड ७२ लाख २५ हजार १४० रुपैयाँ र जनसहभागिताबाट १६ लाख ५८ हजार ४३९ रुपैयाँ योगदान रहेको छ । आयोजनाअन्तर्गत १ वटा गहिरो बोरिङ, १५ मिटर अग्लो शुद्ध पानी ट्याङ्की, ६ हजार ७२० मिटर वितरण पाइपलाइन, १०० घनमिटर प्रति मिनेट क्षमताको पम्प, १० वटा भल्भ चेम्बर, १ वटा कार्यालाय भवन तथा १८३ वटा धारा (निजी १८० र संस्थागत १) निर्माण गरिएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय दाङका कार्यालय प्रमुख तिलक न्यौपानेले आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन । उपभोक्ता समितिको तर्फबाट अध्यक्ष चेत नारायण चौधरीले स्वामित्वपत्र ग्रहण गरेका हुन । कार्यक्रमको अबसरमा आयोजना सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै समितीका सँस्थापक अध्यक्ष धुर्ब बहादुर चौधरी, सचिब रामआधार शर्मा, कोषाध्यक्ष लौटनियाँ चौधरी, सदस्य मन्साराम चौधरी, गोपाल गिरी, मिलन चौधरी, अमृता चौधरीलाई कदरपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै नवशान्ती सामुदायिक बन, हसनापुर टोल बिकाश सँस्था, बन्गै खानेपानी तथा सरसफाई उपभोक्ता समिती, बनघुस्री खानेपानी, बन्गै प्रहरी चौकी, लमही-७ का वडाध्यक्ष मोहन गिरी, खानेपानी कार्यालय दाङका प्रमुख तिलक न्यौपानेलाई पनि सम्मान गरिएको खानेपानीका सचिब युबराज गिरीले बताए । स्थानीयस्तरमा सुरक्षित र दिगो खानेपानी सेवा विस्तारमा उक्त आयोजना महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन् । कार्यक्रमको सहजिकरण सँस्थापक अध्यक्ष धुर्ब चौधरीले गरेका थिए ।





