जय महाकाल युवा समूहद्वारा दाङ लमही महोत्सवमा निःशुल्क जलपान सेवा

घरसञ्चार

देउखुरी । सामाजिक सेवामा सक्रिय रहँदै आएको जय महाकाल युवा समूहले लमहीमा सञ्चालन भइरहेको महोत्सवमा सर्वसाधारणका लागि निःशुल्क जलपान सेवा उपलब्ध गराएको छ । महोत्सव अवधिभर समूहले चिया तथा पानी निःशुल्क वितरण गर्दै सेवामूलक अभियानलाई निरन्तरता दिएको हो ।


लमहीको जैविक विविधता पार्कमा आयोजना भइरहेको महोत्सवमा आउने दर्शक, आगन्तुक तथा श्रमिकहरूलाई लक्षित गर्दै समूहले सेवा सञ्चालन गरेको जनाएको छ । महोत्सवमा लामो समयसम्म घुमफिर गर्ने सर्वसाधारणलाई सामान्य राहत प्रदान गर्ने उद्देश्यले निःशुल्क चिया–पानीको व्यवस्था गरिएको समूहले जनाएको छ । यसअघि पनि जय महाकाल युवा समूहले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा उल्लेखनीय योगदान दिँदै आएको छ ।

हालै सम्पन्न बगारबाबा धार्मिक रिहार मेलाका क्रममा समूहले हजारौँ भक्तजनलाई निःशुल्क खाना खुवाउने तथा बसोबासको व्यवस्था मिलाएको थियो । उक्त कार्यले समूहको सामाजिक उत्तरदायित्व र सेवाभावलाई उजागर गरेको स्थानीयवासीहरूको भनाइ छ । जय महाकाल युवा समूहका केन्द्रीय सदस्य निर्मल कुमार भुषालका अनुसार समूहले समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । “धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा सहभागी भएर निःशुल्क सेवा प्रदान गर्नु नै हाम्रो समूहको मुख्य लक्ष्य हो,” उनले भने ।

महोत्सव आयोजक लमही चेम्बर अफ कमर्सले जय महाकाल युवा समूहको सेवाभावको कदर गर्दै समूहलाई निःशुल्क स्टल उपलब्ध गराएको छ । महोत्सब मुल आयोजकका अध्यक्ष किरण कुमार बुढाथोकीले समाजसेवामा सक्रिय संघसंस्थालाई प्रोत्साहन गर्ने नीति अनुरूप स्टल प्रदान गरिएको जनाएका छन । स्थानीयवासी तथा महोत्सव अवलोकनकर्ताहरूले जय महाकाल युवा समूहको निःस्वार्थ सेवाको प्रशंसा गर्दै यस्ता कार्यले सामाजिक एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *