नेपाल तरुण दल दाङको बैठक-संगठन सुदृढीकरण र निर्वाचन तयारीमा जोड

घरसञ्चार

दाङ । नेपाल तरुण दल दाङ जिल्ला समितिको बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष टीका घर्तीको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण, क्षेत्रगत विस्तार तथा आगामी निर्वाचनलाई लक्षित कार्यदिशालाई केन्द्रमा राख्दै विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।

बैठकमा जिल्लाभर संगठनलाई थप मजबुत, अनुशासित र जनमुखी बनाउने विषयमा गहन छलफल भएको थियो । सो क्रममा क्षेत्रगत संगठन विस्तार, जिम्मेवारी बाँडफाँड, सदस्यता अनुमोदन तथा निर्वाचन केन्द्रित रणनीतिहरू तय गरिएको छ । संगठनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित संरचनागत सुधारमा जोड दिइएको बैठकले जनाएको छ ।

बैठकको निर्णयअनुसार क्षेत्रगत संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले संयोजक, सह–संयोजक तथा सदस्यहरूको जिम्मेवारी तोकिएको छ । दाङ क्षेत्र नं. १ मा जिल्ला सदस्य अर्जुन बस्नेतलाई संयोजक र क्षेत्रिय अध्यक्ष किरण बिक्रम शाहलाई सह–संयोजक चयन गरिएको छ भने क्षेत्र नं. २ मा जिल्ला सदस्य सुरज खड्का संयोजक र क्षेत्रिय अध्यक्ष दिपेन शाही सह–संयोजक चयन भएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ मा जिल्ला कोषाध्यक्ष नवीन योगी र सहसंयोजकमा क्षेत्रिय अध्यक्ष राजकुमार केसी सह-संयोजक चयन भएका छन । नयाँ सदस्यहरूको सक्रिय सहभागिताले संगठन थप सशक्त, ऊर्जावान र गतिशील बन्ने विश्वास व्यक्त गरिएको छ । सदस्यता विस्तारसँगै संगठनमा नयाँ सोच, नयाँ नेतृत्व र नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ ।

बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार अभियान सञ्चालन गर्ने, जनसम्पर्क बढाउने तथा स्पष्ट र व्यावहारिक रणनीतिक कार्ययोजना निर्माण गर्ने प्रस्तावहरू पारित गरिएका छन् । निर्वाचनलाई केन्द्रमा राख्दै पालिका, क्षेत्र र जिल्ला स्तरका कमिटीहरूलाई थप सक्रिय, जिम्मेवार र परिणाममुखी बनाउने निर्णय पनि गरिएको छ ।

बैठकले संगठनलाई अनुशासित, पारदर्शी र जनताको भावना अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय तहसम्म संगठनको पहुँच विस्तार गर्दै जनताको समस्या, आवश्यकता र अपेक्षासँग जोडिएर काम गर्ने नीति लिइएको जिल्ला समितिले जनाएको छ । संगठनात्मक एकता, सक्रियता र नेतृत्व विकासमार्फत तरुण दललाई जिल्लामा थप प्रभावकारी बनाउने लक्ष्यसहित बैठक सम्पन्न भएको अध्यक्ष टीका घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *