कर्रि सामुदायिक वन लमही-७ को २५ औँ साधारणसभा सम्पन्न

घरसञ्चार

देउखुरी । लमही नगरपालिका–७ बनघुस्रीस्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले सामुदायिक वन उपभोक्ता समूह वन संरक्षणको मेरुदण्ड भएको उल्लेख गरे । उनले कर्रि सामुदायिक वनले वन संरक्षण, हरियाली प्रवर्द्धन र जैविक विविधता जोगाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताए । सामुदायिक वनको आम्दानीलाई पारदर्शी र दिगो रूपमा परिचालन गरी स्थानीय विकास, रोजगारी सिर्जना तथा विपन्न वर्गको उत्थानमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

समूहका सचिव छोट्कहनिया चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मन्तव्य राख्दै समूहका सल्लाहकार शिबराज गिरीले २५ औँ साधारणसभा समूहको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताग । उनले सामुदायिक वनको आम्दानीलाई दीर्घकालीन योजनासहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक विकासका क्षेत्रमा प्रयोग गर्न सुझाव दिए । यस्तै, नेपाल विद्युत प्राधिकरण लमहीका ई-सुपरभाइजर सन्तोष वाग्लेले वन क्षेत्रभित्र तथा आसपास सञ्चालन हुने विद्युत संरचनामा सुरक्षा र समन्वय आवश्यक रहेको उल्लेख गरे । वन रक्षक महेश केसीले अवैध कटानी नियन्त्रण, डढेलो रोकथाम र वन्यजन्तु संरक्षणमा उपभोक्ताहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । वडासदस्य उर्मिला चौधरीले वडाको तर्फबाट सामुदायिक वनसँग सहकार्य गर्दै स्थानीय विकासका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

२५ औँ साधारणसभामा कोषाध्यक्ष महाबिर चौधरीले एक करोड १२ लाख २० हजार दुई सय एकतीस रुपैयाँ २० पैशाको आर्थिक प्रतिबेदन प्रस्तुत गरे । प्रतिवेदनमा आम्दानी, खर्च विवरण तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रमहरू समेटिएका थिए । २५ औँ साधारणसभा सामुदायिक वनको संरक्षण, सुशासन र दिगो व्यवस्थापनमा थप सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएका छन् । कार्यक्रमको सहजीकरण समूहका बरिष्ठ उपाध्यक्ष हरिराम चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *