राप्तीको ऐतिहासिक जोरपोखरी गढीमा शिलालेख अनावरण

तुलबहादुर कवँर मगर

भालुबाङ, २८ कार्तिक । दाङको राप्ती गाउँपालिका–९ मा अवस्थित ऐतिहासिक जोरपोखरी गढीमा शुक्रबार एक कार्यक्रमका बीच शिलालेख अनावरण गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र ज्वालादल गण घाेराहीका गणपति कर्नेल सन्तोष थापाले संयुक्त रूपमा गढीको इतिहास उल्लेख गरिएको शिलालेख अनावरण गरेका हुन । प्राचीन समयमा “काला राजाले” निर्माण गरेको मानिने उक्त गढीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शिलालेख स्थापना गरिएको हो । जोरपोखरी गढी ऐतिहासिक शिलालेख अनावरण कार्यक्रमले यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्वलाई थप उजागर गरेको छ ।

शिला अनावरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गढीलाई स्थानीय सरकारले संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभयो। यो गढी पालिकाको सबैभन्दा उच्च स्थानमा अवस्थित छ । “यहाँबाट उत्तरतर्फ विभिन्न हिमश्रृङ्खला हेर्न सकिने र देउखुरी उपत्यका अवलोकन गर्न सकिन्छ”,अध्यक्ष विष्टले भने । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरी, वडा नं. ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर, कार्यपालिका सदस्य रणबहादुर पुजाली, नेपाली सेनाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

किंवदन्तीका अनुसार शिलालेखमा गढी प्राचीन समयमा “काला राजा” ले निर्माण गरेको बताइन्छ । पछि “गोरा राजा” सँगको युद्धमा काला राजा र उनका छोराहरू “कालाकाटे” स्थानमा मारिएका थिए। त्यसपछि रानीसहित अन्य महिलाहरूले गढीको पश्चिमतर्फ रहेको चिउरीको रुखमा झुन्डिएर आत्महत्या गरेको जनश्रुति रहेको उल्लेख छ । स्थानीय बासिन्दाका अनुसार करिब ५० वर्षअघिसम्म गढी अण्डाकार आकारको तीन फिट अग्लो पर्खालले घेरिएको थियो, जसको बीचभागमा चार दिशातर्फ ढोका रहेका घरका भग्नावशेष देखिन्थे । गढीको उत्तर–पूर्व दिशामा करिब ४ सय मिटर टाढा रहेको रानी कुवा पनि ऐतिहासिक रूपमा यस स्थलसँग सम्बन्धित मानिन्छ । नेपाली सेनाले देशभर रहेका ऐतिहासिक गढी र किल्लाहरूको पहिचान, संरक्षण र जगेर्ना गर्ने नीतिअनुसार यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *