सानाकिसान सहकारीको साधारण सभा, दुईदर्जन बढि किसान सम्मानित

टेकबहादुर पुन

दाङ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नारासहित सानाकिसान कृषि सहकारी संस्था लि., लमही नगरपालिका–८ सतबरियाले आफ्नो २२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष तेजमणी ज्ञावलीको अध्यक्षता तथा नेपाल केन्द्रीय कृषि सहकारी संघ लिमिटेडका लेखा समितिका सदस्य चिरञ्जीवी केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको अबसरमा जेष्ठ नागरिक, एकल महिला, उत्कृष्ट किसान गरि दुईदर्जन बढि किसान सम्मानित भएका हुन । संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका सदस्य तथा समुदायका प्रतिनिधिहरूलाई सम्मान गरेको थियो । संस्थाले आफ्नो कार्यक्षेत्र लमही–७, ८ र ९ का समूह सदस्यहरूलाई सम्मान गरिएको थियो ।

लमही–७ बाट देबिराम चौधरी, रामपति चौधरी, जितबहादुर बुढा मगर, सन्तरामी चौधरी र धनेश्वर चौधरी, लमही–८ बाट पार्वती बैजाली, हरिनारायण चौधरी, गर्भु चौधरी, रामकुमारी चौधरी तथा लमही–९ बाट मनप्यारी घर्तीलाई सम्मान गरिएको थियो । त्यसैगरी एकल महिला सम्मानअन्तर्गत लमही–७ बाट हिरादेबी बोहरा, लक्ष्मीदेबी श्रेष्ठ, हरिकला बुढा, लक्ष्मी थापा, मिना कुमारी डिसी, लमही–८ बाट थुन्ची चौधरी, सुगनिया चौधरी र लमही–९ बाट अमृता शर्मा तथा तोली कँवरलाई सम्मान गरिएको थियो । उनीहरूको कठिनाइ र जिम्मेवारीलाई मध्यनजर गर्दै सहकारीले एकल महिलाको योगदानलाई प्रेरणादायी मान्दै सम्मान गर्दै आईरहेको छ ।

त्यस्तै कृषिमा उत्कृष्ट कार्य गर्दै आएका सदस्यलाई प्रदान गरिने उत्कृष्ट किसान सम्मान पनि यस वर्ष विशेष रुपमा लिँदै सम्मान गरिएको छ । खेतीपातीतर्फ दुखराम चौधरी,
बाख्रा पालनतर्फ दीलकुमारी चौधरी,
भैंसी पालनतर्फ सिउरानी चौधरी सम्मानित भएका हुन् । त्यसैगरी पछाडिएको वर्गका शेयर सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले लक्ष्मी कुमारी कुमाल, शान्ता कुमाल, सुनिता कुमाल, सीता कुमाल, पातली कुमाल र सरिता कुमाललाई सम्मान गरिएको थियो ।

सभामा ९ करोड ८ लाख ६३ हजार १ सय १५ रुपैयाँ बराबरको वार्षिक लेखा प्रतिवेदन लेखा समिति संयोजक कमला चौधरीले प्रस्तुत गरेकि थिईन । प्रतिवेदनमा संस्थाको आय–व्यय, लगानी अवस्था, सञ्चालन खर्च र कर्जा प्रवाहका तथ्यहरू समेटिएका थिए ।
यस्तै संस्थाका अध्यक्ष तेजमणी ज्ञावलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्य विस्तार, कृषक प्रवर्द्धन कार्यक्रम, कृषि उपजको उत्पादन वृद्धिमा संस्थाले खेलेक भूमिका, विपन्न सदस्यका लागि संचालित राहत तथा सहयोग कार्यक्रम, समूहगत गतिविधिको विस्तार लगायतका विषय बारे जानकारी गराए । उनले संस्थामा अहिले ६ सय भन्दा बढी सदस्य रहेको उल्लेख गर्दै, सहकारीले विगतदेखि नै किसानको सीप, उत्पादन क्षमता र आर्थिक पहुँचलाई मजबुत बनाउने काम गर्दै आएको बताए। संस्थाले सदस्यहरूलाई बिरामीपर्दा आर्थिक सहयोग, आकस्मिक क्षतिपूर्ति तथा कृषिमा प्राविधिक परामर्श जस्ता सेवासमेत प्रदान गर्दै आएको उनको भनाइ थियो ।

संस्थाकी उपाध्यक्ष पवित्रा पुन मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी चिरञ्जीवी केसीले सहकारीलाई दिगो बनाउने मार्ग, पारदर्शिता र आर्थिक शुचिताको महत्व, आधुनिक कृषि तथा सहकारीबीचको सम्बन्धबारे महत्वपूर्ण सुझाव राखे । उनले सहकारीले आफ्नो समुदायमा देखाएको सक्रियता अन्य सहकारीका लागि प्रेरणा भएको बताए । कार्यक्रममा संस्थाकी प्रबन्धक अमृ कुमारी थापाले सहकारी सञ्चालन, सेवा प्रवाह र व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी दिँदै सहकारी आधुनिकिकरणमा जोड दिनुपर्ने बताइन् । उनले विगत वर्षहरूमा गरेको प्रगति र आगामी वर्षका चुनौतीबारे उल्लेख गरेकी थिइन् । कार्यक्रममा संस्थाका अध्यक्ष तेजमणी ज्ञावलीले धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष पनि सहकारीलाई अझ सक्षम र सेवामुखी बनाउन सबैको साथ आवश्यक हुने उल्लेख गरे ।

संस्थाले आफ्नो कार्यक्षेत्र साविक सतबरिया गाबिस (हाल लमही–७, ८, ९) मा कृषि प्रवर्द्धन, आयमूलक कार्यक्रम, सीप विकास तालिम, पशुपालन प्रविधि विस्तार तथा सामुदायिक सहयोग कार्यक्रमलाई अझ विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ । समुदायमा आफ्नो बर्चश्व कायम राख्दै सानाकिसान कृषि सहकारी संस्था लि. आगामी वर्षहरूमा सहकारीमार्फत किसानको जीवनस्तर उकास्ने योजनासहित अघि बढ्ने बिस्वास जनस्तरले गरेका छन् । कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी सितल ग्वालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *