नेपाली काँग्रेस युवा समर्थकहरुद्वारा रक्तदान–जीवनदान कार्यक्रम सम्पन्न

घरसञ्चार

देउखुरी । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत् रक्तदान–जीवनदान कार्यक्रम’ शुक्रबार सफलतापूर्वक सम्पन्न गरेका छन । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा ३० जना भन्दा बढी युवाहरूले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरूले रक्तदानलाई मानव जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित महान् कार्य रहेको भन्दै जनसहभागिताको प्रशंसा गरे । यस्तै, रक्तदान स्थलमा नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा दाताहरूको स्वास्थ्य परीक्षण, रगत सङ्कलन तथा व्यवस्थापन सबै प्रक्रिया स्वास्थ्य मापदण्डअनुसार गरिएको आयोजकहरूले जनाए । ‘युवाहरूको सक्रिय सहभागिताले मानवसेवाप्रतिको जागरण झनै बलियो भएको छ,’ नेपाली काँग्रेस लमही नगर सचिब प्रेम कालाथोकीले बताए ।

रक्तदान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ । आयोजकका अनुसार यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा सहयोगको संस्कृति विस्तार गर्न सहयोग पुर्‍याउँछन् । कार्यक्रमका सहभागी युवाहरूले ‘रक्तदान मात्र होइन, जीवनदान हो’ भन्ने भावनासहित अभियानलाई निरन्तरता दिने युवा माधब खनालले बताए ।

लमही काँगे्रसी मनका तर्फबाट अन्य सदस्यहरुले धन्यबाद ज्ञापन गर्दै भविष्यमा पनि नियमित रूपमा यस्ता सामाजिक उत्तरदायित्वयुक्त कार्यक्रम सञ्चालन गरिने बताएका थिए । यस रक्तदान कार्यक्रममार्फत सङ्कलित रगतले दाङ तथा आसपासका क्षेत्रका अस्पतालहरूमा उपचाररत बिरामीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसरी रक्तदान–जीवनदान कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै ३० भन्दा बढी युवाले मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *