गढवामा शून्य होम डेलिभरीका लागि वडा नं. ५ छनोट
आलोक भावुक
गढवा, २५ कार्तिक । दाङको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ ।
गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा तथा सुनिश्चितता घोषणा गर्नका लागि छनोट गर्ने निर्णय गरेको हो । बैठकमा स्वास्थ्य संस्थाबाट हुने प्रसूति सेवा सशक्त बनाउँदै आमाबच्चाको ज्यान सुरक्षित गर्ने उद्देश्य प्रस्तुत गरिएको थियो । स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा सुत्केरी महिलालाई चार पटक नियमित स्वास्थ्य परीक्षण, २४ घण्टासम्म स्वास्थ्य संस्थामा निगरानी, र ३१०० रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था रहेको जानकारी दिईएको थियो ।

स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीका अनुसार, “शून्य होम डेलिभरी अभियानले आमा र बच्चा दुबैको ज्यान सुरक्षित राख्छ, संक्रमण घटाउँछ र सुरक्षित मातृत्व सुनिश्चित गर्छ ।” बैठकमा बोल्दै वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेखबहादुर थापाले“शून्य होम डेलिभरीका लागि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार पनि सक्रिय रूपमा लागेको बताए । अज्ञानता र भौगोलिक दुर्गमका कारण अझै पनि घरमै बच्चा जन्माउने प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्न सबैको सहकार्य अपरिहार्य छ।”संयोजक थापाले बताए । उनले संस्थागत प्रसूति बढ्दा मातृ तथा नवजात मृत्युदर घट्ने विश्वास व्यक्त गरे ।
बैठकमा सामाजिक विकास समितिका सदस्यहरू रमा भण्डारी, श्यामबहादुर बिक, प्रेरणा चन्द, अशोककुमार यादव, सुरेश पौडेल, कर्ताराम यादव र कैलाशचन्द्र चौधरी उपस्थिति रहेको थियो भने आमन्त्रित अतिथिहरूमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, स्वास्थ्य शाखाका रोहित चौधरी र मनिषा गैरे, साथै ‘प्रेरणा परियोजना’ का सामाजिक परिचालक अमित यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा ‘प्रेरणा परियोजना’को आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले गरेका थिए ।





