शान्ति सुरक्षा, अपराध नियन्त्रणका लागि सहकार्य आबस्यक

टेकबहादुर पुन
दाङ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।
कार्यक्रम स्थानीय तह, सुरक्षा निकाय, संघ–संस्था तथा नागरिक समाजबीचको सहकार्यमा सम्पन्न भएको हो । समाजमा बढ्दो अपराध, लागूऔषधको दुरुपयोग, विपद् व्यवस्थापन, आत्मदाह र सेवा प्रवाह सुधारका विषयमा गहिरो छलफल गरिएको थियो । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य एबम् लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले शान्ति सुरक्षा र सेवा प्रवाह सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, “शान्ति र सुरक्षा बिना विकास सम्भव हुँदैन । प्रशासन, प्रहरी र नागरिक सबैको संयुक्त प्रयासबिना स्थायी शान्ति आउँदैन ।” नगरप्रमुख चौधरीले नगरपालिकाले अपराध नियन्त्रणका लागि वडास्तरमै सचेतनामूलक कार्यक्रम, निगरानी समिति र युवा स्वयंसेवक परिचालन गर्ने योजना अघि सारेको बताए । उनले थपे, “हामी सबैले आफ्नो घर, टोल, विद्यालय र कार्यालयबाटै सुरक्षाको अभियान सुरु गर्नुपर्छ । नगरपालिकाले सुरक्षासँग सम्बन्धित हरेक सकारात्मक प्रयासमा साथ र सहयोग गर्नेछ ।”

कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले चाडपर्व नजिकिँदै गर्दा अपराधका घटना बढ्ने सम्भावनालाई ध्यानमा राख्दै सबै नागरिकलाई सतर्क रहन आग्रह गरे । उनले भने, “चाडबाडमा जुवा–तास, मदिरा सेवन, अनैतिक कार्य जस्ता गतिविधि रोक्न सबैको भूमिका जरुरी छ । देउसी–भैलो राति १० बजेपछि नगर्नुहोस्, र कुनै पनि अवैध गतिविधि देखेमा सिधै प्रहरी वा प्रशासनलाई जानकारी दिनुहोस् ।” उनले थपे, “सुरक्षा र विकास दुवैका आधार नागरिकको जिम्मेवारी हो । हामी सबै मिलेर अपराधमुक्त, सभ्य र सुरक्षित समाज बनाउन सक्छौं ।” प्रजिअ अर्यालले नागरिक समाज, विद्यार्थी, सञ्चारकर्मी, महिला समूह र युवालाई स्थानीयस्तरमा शान्ति अभियानका सह–सहभागी बन्न आह्वान गरे ।
कार्यक्रममा शान्ति सुरक्षा र अपराध नियन्त्रणका विषयमा प्रहरी निरीक्षक कबिराज रोकायले विषयगत प्रस्तुतीकरण दिएका थिए । उनले दाङ जिल्लाको हालको अपराध अवस्थाबारे तथ्यांकसहित जानकारी दिँदै, साना अपराध (चोरी, ठगी, साइबर अपराध, आत्मदाह, घरेलु हिंसा, लागूऔषध कारोबार) बढ्दो क्रममा रहेको बताए । रोकायका अनुसार अपराध नियन्त्रणका लागि समुदाय, विद्यालय, परिवार र सुरक्षाकर्मीबीच सशक्त सहकार्य आवश्यक छ । उनले भने, “अपराध रोकथामको पहिलो आधार नागरिक सचेतना हो । नागरिकले स–साना घटनामा पनि प्रहरीलाई समयमै जानकारी गराए भने ठूलो अपराध रोक्न सकिन्छ ।”
त्यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक मनोज कुमार धितालले विपद् तथा चुनौतीका सन्दर्भमा प्रस्तुती दिए । उनले प्राकृतिक विपद् — बाढी, पहिरो, आगलागी, सडक दुर्घटना लगायत आकस्मिक घटनाको जोखिम घटाउन सशस्त्र प्रहरी बलले अपनाइरहेको रणनीति र तयारीबारे जानकारी गराए । उनले समुदायस्तरमै विपद् सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै भने, “विपद् आउँदा मात्र होइन, अघि नै तयारी गरेर जनजीवन सुरक्षित राख्न सकिन्छ ।”

कार्यक्रममा सहभागी सरोकारवालाहरूले आफ्ना जिज्ञासा र सुझावहरू पनि प्रस्तुत गरेका थिए । दशरथ घिमिरे, हल्लु प्रसाद चौधरी, प्रेम पुलामी, शशी परियार, पवन रिजाल र डिल्लिराज खनाललगायतले अपराध नियन्त्रणका उपाय, प्रहरी सेवाको पहुँच, जनचेतना र सहकार्यका विषयमा सुझाव दिए । उनीहरूले प्रहरी–जनता सम्बन्ध अझ नजिक ल्याउन नियमित अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम निरन्तर हुनुपर्ने माग गरे ।
कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले समाजमा सुरक्षासँग सम्बन्धित चुनौतीहरूबारे कुरा गर्दै स्थानीय तहले अपराध नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, “हामीले महिला हिंसा न्यूनीकरण, विद्यालयस्तरमा सचेतना कार्यक्रम र सामुदायिक सुरक्षा अभियान सञ्चालन गरिरहेका छौं ।” त्यसैगरी, जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले अपराध नियन्त्रणमा प्रहरीको प्रतिबद्धता दोहोर्याउँदै जनताको सक्रियता आवश्यक भएको बताए । उनले भने, “सुरक्षा निकाय मात्र पर्याप्त हुँदैन, जबसम्म नागरिक आफैं सचेत र जिम्मेवार हुँदैनन्, शान्ति सुरक्षा सुनिश्चित हुँदैन ।”
कार्यक्रममा सहभागीहरूले अपराध नियन्त्रण, सेवा प्रवाह सुधार र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनीहरूले यस्तो अन्तरक्रिया कार्यक्रमले नागरिक र सुरक्षाकर्मीबीचको विश्वास, पारदर्शिता र सहकार्यलाई मजबुत बनाउनेमा विश्वास व्यक्त गरे ।