लमही जेसिजद्वारा विविध कार्यक्रमसहित सप्ताह कार्यक्रम सम्पन्न

घरसञ्चार

दाङ । दाङको लमहीमा लमही जेसिजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विविध गतिविधिहरुसहित सम्पन्न भएको छ । भदौ २१ गतेदेखि सुरु भएको यो कार्यक्रम असोज ४ गते समापन गरिएको हो । लमही जेसिजका अध्यक्ष रामदिन चौधरीको अध्यक्षता तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पुर्व वरिष्ठ माटो वैज्ञानिक इन्द्र वलीको प्रमुख आतिथ्यतामा सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।

सप्ताहव्यापी कार्यक्रम भदौ २१ गते उद्घाटनसँगै सुरु भएको थियो । उद्घाटन दिनमै खुला फुटबल प्रतियोगिता सम्पन्न गरिएको थियो, जसमा स्थानीय युवा टोलीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए । त्यसपछि भदौ २३ गते वक्तृत्वकला प्रतियोगिता आयोजना भएको थियो, जसले विद्यार्थी तथा युवाहरूमाझ सार्वजनिक बोल्ने क्षमताको विकासमा योगदान पुर्‍याएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम अन्तर्गत असोज १ गते लमही जेसिजका पूर्वअध्यक्षहरुसँग अनुभव आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरुले आफ्नो कार्यकालका अनुभव तथा वर्तमान जेसिजलाई सन्देश दिएका थिए । असोज २ गते वृक्षारोपण गरिएको थियो, जसअन्तर्गत स्थानीय समुदायमा हरियाली र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण पहल गरिएको हो ।

यस्तै, असोज ३ गते संसदीय व्यवस्था प्रणाली र पब्लिक स्पिकिङ सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । यस तालिमले सहभागीलाई लोकतान्त्रिक प्रणालीको महत्व बुझ्न र आफ्ना विचारलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप विकासमा मद्दत गरेको आयोजकको भनाइ छ । सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन असोज ४ गते समापन गरिएको हो । सप्ताह कार्यक्रमका मुल संयोजक जेसी सरोज पौडेलले सम्पूर्ण कार्यक्रमको व्यवस्थापन र संयोजन गरेका थिए । उनले यस्तो खालको कार्यक्रमले जेसिज सदस्य र स्थानीय समुदायलाई आपसी सद्भाव, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वप्रति सजग बनाउने बताए ।

समापन कार्यक्रममा प्रमुख अतिथी इन्द्र वलीले युवा नेतृत्व र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउन जेसिजको भूमिका महत्वपूर्ण हुने बताए । उनले जेसिजका गतिविधिहरुले समाजमा चेतना, शैक्षिक विकास र वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे । सप्ताहभर चल्ने यस्ता विविध कार्यक्रमहरुले लमही क्षेत्रका युवाहरुलाई समाजसेवा र नेतृत्वतर्फ आकर्षित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रममा संयोजक जयप्रकाश पौडेलको स्वागत मन्तव्य बाट शुरु भएको समापन कार्यक्रममा साहित्यकार डा. लोकराज पराजुली, अजम्मरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजाल, पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाह, लमही जेसिजका पुर्व अध्यक्ष कमलजङ्ग सिंह ठकुरी, बुटवल जेसिजका अध्यक्ष मोहन न्यौपाने, त्रिभुवननगर जेसिजका अध्यक्ष टंक रावत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव विदुर शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *