राप्तीमा थारु अगुवाहरुसँग छलफल : संस्कार र संस्कृति संरक्षणमा जोड

तुलबहादुर कवर मगर
भालुवाङ, ३ भदौ । दाङको राप्ती गाउँपालिकाले परम्परागत मौलिक थारु कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार थारु अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय थारु अगुवा र जनप्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा थारु समुदायको मौलिक कला, संस्कार र संस्कृतिको महत्व, यसको पुस्तान्तरणमा देखिएका चुनौती तथा संरक्षणका सम्भावनाबारे गहन छलफल भएको थियो । सहभागी थारु अगुवाहरूले धर्म परिवर्तन र बाह्य संस्कृतिको प्रभावले थारुका मौलिक संस्कार–संस्कृति क्रमशः हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु संस्कृतिले नेपाली समाजलाई विविधता र मौलिकता प्रदान गरेको उल्लेख गर्दै यसको संरक्षणमा गाउँपालिका गम्भीर रहेको जानकारी दिए । उनले भने,
“थारु समुदायको कला, संस्कार र संस्कृति हाम्रो समाजको अमूल्य सम्पदा हो । यसले नेपाली पहिचानलाई अझ समृद्ध र मौलिक बनाएको छ। यदि हामी आजैबाट संरक्षण र पुस्तान्तरणमा गम्भीर पहलमा जुटेनौं भने भोलिका पुस्ताले आफ्नै मौलिकता खोज्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले स्थानीय तह, समुदाय र सम्पूर्ण समाज मिलेर यसलाई बचाउन आवश्यक छ ।”
अध्यक्ष विष्टले थारु समुदायको परम्परागत मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि ‘बडघर ऐन’ निर्माण गरी राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी समेत दिए । त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले थारु संस्कृतिको जगेर्ना र प्रवर्द्धनका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले थारु समुदायकै सक्रिय सहभागिता र सहकार्य बिना संरक्षण सम्भव नहुने भन्दै यसका लागि सामूहिक प्रयास अपरिहार्य हुने धारणा राखे ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले गाउँपालिकाले विभिन्न समुदायका मौलिक कला, संस्कार र संस्कृतिको संरक्षणलाई संस्थागत रूप दिने गरी योजनाबद्ध कार्य अघि बढाइरहेको जानकारी दिए । सहभागीहरूले थारु संस्कृतिको संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै गाउँपालिकालाई थप सहयोग र कार्यक्रम सञ्चालनमा निरन्तरता दिन आग्रह गरे । राप्ती गाउँपालिकाले आगामी दिनमा थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने जनाएको छ ।