बृहत् छलफल सँगै लमहीका व्यवसायीलाई प्रक्रिया र कानुनबारे प्रशिक्षण

घरसञ्चार
देउखुरी । चाडबाड नजिकिँदै गर्दा देउखुरी उद्योग वाणिज्य संघले क्षेत्रका उद्योगी र व्यवसायीहरूसँग बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

दशैं, तिहार, छठलगायतका प्रमुख पर्व नजिकिँदै गर्दा बजारमा हुने अनुगमन, गुणस्तर परीक्षण र मूल्य नियन्त्रणका कारबाही प्रक्रियामा व्यवसायीहरूलाई आवश्यक सतर्कता र कानुनी जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

नेपालगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीसहित भएको उक्त कार्यक्रम संघका अध्यक्ष कमलजंगसिंह ठकुरीको अध्यक्षता र कार्यालयका प्रमुख हरि बहादुर खत्रीको प्रमुख आतिथ्य भएको थियो । बजार क्षेत्रमा प्रायः चाडपर्व नजिकिँदा सरकारी निकायले मूल्य नियन्त्रण, नापतौलको शुद्धता, म्याद गुज्रिएका सामानको बिक्री रोकथाम तथा गुणस्तर सुनिश्चित गर्न विशेष अनुगमन गर्ने चलन छ । यस क्रममा कतिपय व्यवसायी कानुनी जानकारीको कमी वा प्रक्रियागत कमजोरीका कारण कारबाहीमा पर्ने, सामान जफत गरिने वा जरिवाना तिर्नुपर्ने अवस्था देखिँदै आएको छ ।

तसर्थ उद्योगी–व्यवसायीलाई सचेत गराउन पालना गर्नुपर्ने कानुनी दायित्व, आवश्यक प्रक्रिया र कागजातबारे सचेत गराउन कार्यक्रम गरिएको बाणिज्य संघले जनाएको छ । साथै, उपभोक्ता अधिकार र व्यवसायीको जिम्मेवारीको सन्तुलन कसरी कायम गर्ने भन्नेबारे व्यावहारिक जानकारी दिनुपनि कार्यक्रमको उद्देश्य थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रशिक्षक डम्बर बहादुर बुढाले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने मुख्य विषयहरूबारे विस्तृत प्राविधिक जानकारी प्रस्तुत गरेका थिए । प्रशिक्षणका दौरान उनले म्याद गुज्रिएका सामानप्रति सचेत, नापतौलको शुद्धता, वस्तुको मूल्यसूची सार्वजनिक, बिल/रसिद अनिवार्य, कर, गुणस्तर मापदण्ड लगायत कानुनी कारबाही समेतका बिषयमा प्रशिक्षण दिएका हुन । अन्तरक्रियामा व्यवसायीहरूले कर प्रणाली सरल बनाउन, अनुगमन टोलीको व्यवहार सुधार गर्न र व्यवसायमैत्री नीति बनाउन सरकारलाई सुझावसमेत दिएका थिए । सहभागीहरूले आफ्नो अनुभव सुनाउँदै अनुगमनका क्रममा देखिने समस्या र समाधानका उपायबारे प्रश्न सोधेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले बजार नियमनको उद्देश्य व्यवसायीलाई दण्ड दिन मात्र नभई उपभोक्ताको हक र उद्योगीको प्रतिष्ठा दुवैको रक्षा गर्ने रहेको बताए । उनले भने, “यदि व्यवसायीहरूले कानुन र प्रक्रिया पालना गर्नुभयो भने अनुगमन कुनै समस्या होइन, बरु तपाईंहरूको व्यवसायमा विश्वास र बजारको छवि बढाउने माध्यम हो ।” कार्यक्रममा
विशिष्ट अतिथि लमही-५ का वडाध्यक्ष ओम प्रसाद सुवेदी ‘सागर’ले स्थानीय सरकारको तर्फबाट व्यवसायमैत्री वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “व्यवसायीले पनि आफ्नो दायित्व पूरा गरे स्थानीय तह र संघसंस्था सधैं तपाईंहरूको पक्षमा रहनेछन्,” भने । उनले पछिल्ला समय खाद्यबस्तुकै कारण क्यान्सर पिडित बढिरहेको स्मरण गर्दै ब्यबसायी पनि त्यसतर्फ सचेत हुनुपर्ने कुरामा जोड दिए । मानिसको प्रमुख स्वास्थ्य सँग जोडिएको खाद्य बस्तुको बिक्रि बितरणमा ब्यबसायीहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीले व्यवसायीहरूलाई कानुनी प्रक्रियाको पालना गर्न आग्रह गर्दै, “हामीसँग उचित जानकारी र तयारी भए कारबाहीबाट मात्र होइन, बजारमा प्रतिस्पर्धा र विश्वसनीयतामा पनि फाइदा हुन्छ,” भने । अध्यक्ष ठकुरीका अनुसार, “पछिल्ला वर्षहरूमा दशैं–तिहारमा मात्र नभई वर्षको विभिन्न समयमा पनि अनुगमन हुने गरेको छ । यसैले व्यवसायीले कानुनको जानकारी पाउनुपर्छ, ताकि अनावश्यक समस्या नआओस् ।” उनले संघको तर्फबाट आगामी दिनमा यस्ता प्रशिक्षण र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

बाणिज्य संघकी महिला उपाध्यक्ष शारदा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका उपाध्यक्ष केशवराज पोखरेलले गरेका थिए । देउखुरी उद्योग वाणिज्य संघको यो प्रयासलाई सहभागी व्यवसायीहरूले समयानुकूल र उपयोगी भन्दै प्रशंसा गरेका छन् । चाडपर्वको व्यस्त बजार मौसमअघि भएको यस किसिमको कार्यक्रम व्यवसायी र उपभोक्ता दुवैका लागि लाभदायक हुने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *