राजपुरका मानसिक समस्याबाट पीडित आमा-छोराको सफल उद्धार

श्रवण कुमार यादब
देउखुरी । राजपुरमा मानसिक समस्याबाट पिडित एकै परिवारका दुई आमा-छोराको सफल उद्धार गरिएको छ ।
राजपुर गाउँपालिका वडा नं २, बेला निवासी ७२ वर्षीया कलावती यादव र उनका ३५ वर्षीय छोरा सियाराम यादवलाई मानसिक समस्या समाधानका लागि उद्धार गरिएको हो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङ, राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादव, सुरक्षा प्रहरी चौकी बेला र राजपुर गाउँपालिका वडा नं २ को समन्वय तथा सहजीकरणमा मानवसेवा आश्रम तुल्सीपुर, दाङका मनकारी मनहरूको पहलमा आमा-छोरालाई उद्धार गरी सुरक्षित आश्रयस्थल पुर्याइएको हो ।
मानसिक स्वास्थ्य समस्याले लामो समयदेखि पीडित दुवै जनालाई आवश्यक सहयोग, उपचार र पुनर्स्थापनाको व्यवस्था मिलाइएको मनोविमर्शकर्ता गीता कुमारी यादवले बताईन । उनले भनिन्, “मानसिक स्वास्थ्य समस्यामा परेका मानिसहरूलाई बेवास्ता गर्नु समाजको ठूलो गल्ती हो । समयमै सहयोग, परामर्श र उपचार पाए अधिकांश समस्या समाधान गर्न सकिन्छ । समुदायका प्रत्येक व्यक्तिले यस्ता अवस्थालाई लाज वा बोझको रूपमा नभई, मानवीय दृष्टिकोणले हेर्नु जरुरी छ। यदि हामी सबैले सचेत भई एक-अर्कालाई साथ दिने हो भने, धेरै जीवनहरू नयाँ बाटोमा फर्काउन सकिन्छ ।”

यस्तो थियोे ७२ वर्षीया आमाको संघर्ष कथा
दाङकी ७२ वर्षीया वृद्धा-बस्ने घर छैन, खाने गास थिएन, शरीर रोगले थलिएको थियोे । हातमा लठ्ठी टेकेर दिनभर घर-घर धाउँनुहुन्थ्यो, आफ्नो पेट मात्र होइन, मानसिक सन्तुलन गुमाएका एक्ला छोराको पेट भर्न पनि मातृत्वको माया र जिम्मेवारीले उनलाई प्रत्येक दिन बाँच्न र लड्न प्रेरित गरिरहेको थियो । जीवनको अन्तिम घडीमा साथ दिने कोही नभएको खण्डमा अन्तमा मनोविमर्शकर्ता गीता यादवसँग भेटभयाे । मनोविमर्शकर्ता यादवले निरन्तर पिडितहरूको दुःखसुखमा सहारा बन्दै गइन । त्यसपछि उनको मानसिक, सामाजीक देखि लिएर चौतर्फी सहयाेग हुन थाल्यो । उनको निरन्तरताको भूमिकाले पन्ध्रौं पटककाे भेट पछि राजपुर गाउँपालिका, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, राजपुर गाउँपालिका वडा नं २ र सुरक्षा प्रहरी चौकी बेलाको सहजिकरण तथा समन्वयमा र मानवसेवा आश्रम तुल्सीपुर, दाङका मनकारी मनहरूको पहलमा उद्धार गरिएको थियो ।
आश्रममा पुगिसकेपछि चिटिक्क परे आमा-छोरा
मानवसेवा आश्रमको सुरक्षित आश्रयमा पुगेपछि कलावती यादव र उनका छोरा सियाराम यादवको जीवनमा ठूलो परिवर्तन आएको छ। उद्धारअघि सडक र असहज अवस्थामा दिन बिताउँदै आएका उनीहरू अब सफा-सुग्घर लुगा, नियमित खाना र बस्नको लागि सुरक्षित स्थान पाएका छन् । आश्रमका कर्मचारी र स्वयंसेवकको माया-स्नेहले उनीहरूको अनुहारमा पहिले नदेखिएको शान्ति र आत्मविश्वास फर्किएको छ । मानसिक स्वास्थ्य समस्यामा परेका मानिसहरूको उद्धार गर्नु केवल एक मानवीय काम मात्र होइन, यो सामाजिक जिम्मेवारी पनि हो। समयमै उद्धार र उपचार नपाउने हो भने यस्ता व्यक्तिहरूले शारीरिक तथा मानसिक पीडा भोग्नुका साथै समाजबाट थप अलगावको सामना गर्नुपर्छ ।