मनसुनजन्य विपदमा सचेत रहन राप्ती गाउँपालिकाको अपिल

तुल बहादुर कवँर मगर

मसुरिया,२० साउन । विगत केही दिनदेखि दाङ, रोल्पा र प्यूठानसहितका क्षेत्रमा मनसुन सक्रिय भई लगातार भारी वर्षा भइरहेको सन्दर्भमा राप्ती गाउँपालिकाले बाढी, डुवान र पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन मंगलबार एक सूचना जारी सर्वसाधारणलाई अपिल गरेको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा खोलानाला तथा नदीहरूमा पानीको बहाव तीव्र रुपमा बढेको हुँदा डुवान, कटान र पहिरोको जोखिम थप उच्च बनेको उल्लेख गरिएको छ । विशेष गरी जोखिमयुक्त क्षेत्रहरूमा बसोबास गर्ने महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांग व्यक्तिहरूलाई थप जोखिम हुन सक्ने भन्दै पालिकाले आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । सूचनामा विपद् न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पूर्ण तयारी अवस्थामा रहन आग्रह गरिएको छ । साथै,जाेखिमयुक्त क्षेत्र आसपास बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।


रेडक्रस, सुरक्षा निकाय, सामुदायिक विपद् व्यवस्थापन समिति, वडास्तरीय टोली, स्वयंसेवी संस्था, राजनीतिक दल, संचारमाध्यम र नागरिक समाजलाई पनि समन्वयात्मक ढंगले विपद् व्यवस्थापनमा जुट्न र संवेदनशील स्थानहरूको निगरानीमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ । गाउँपालिकाले आकस्मिक अवस्थाबारे छिटो सूचना प्रवाह गर्न वडास्तरबाट तत्काल रिपोर्टिङ सुनिश्चित गर्न भनेको छ भने नागरिकहरूलाई आवश्यक परेको खण्डमा सम्बन्धित सम्पर्क नम्बरहरू मार्फत तुरुन्त जानकारी दिन पनि आग्रह गरिएको छ । त्यस्तै सूचनामा सबैलाई सजग, सतर्क र संवेदनशील रहन आग्रह गर्दै आपसी सहयोग, संयमता र सक्रियतामार्फत सम्भावित जोखिम न्यूनीकरण गर्न सबैको साथ र सहयोग अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *