गढवामा वडाध्यक्षकै घरबाट अबैध काठ बरामद

घरसञ्चार
दाङ । दाङको गढवामा वडाध्यक्षकै घरबाट अबैध काठ बरामद गरिएको छ ।
गढवा गाउँपालिका- ७ का वडाध्यक्ष राहुलदेव चौधरीको घरबाट चिरान गर्दै गरिएको अवस्थामा ५८ क्वुफिट काठ बरामद गरिएको छ । अवैध काठ चिरान भइरहेको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोली वडाध्यक्षको घर पुगेको थियो । साल र जङ्गली जातको सिसौ काठ चिरान भइरहेको अवस्थामा उक्त काठ बरामद भएको सव डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिए ।

‘हामीलाई वडा अध्यक्षको घरमा अवैध काठ चिरान भइरहेको गोप्य सूचना आएको थियो । सोही आधारमा छापा मार्न जाँदा चिरान भइरहेको अवस्थामा काठ फेला पारिएको हो,’ गैरेले भने, ‘वडा अध्यक्षले खोलाले बगाएर ल्याएको काठ भएको दाबी गर्नुभएको छ ।’ वडा अध्यक्षको घर-आँगनबाट चिरान काठ बरामद भएको पुष्टि डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले पनि गरेका छन् । उनले काठ चिरानमा संलग्न सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय गढवामा राखिएको छ ।