कोईलाबास भन्सारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन

ओमप्रकाश गुप्ता

दाङ । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।

दाङको एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख ६ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी अर्थात एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित राजस्व १५ लाख एक हजार ७४९ रुपैयाँँ मुद्दाबाट असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको कार्यालयले बताएको छ ।

कार्यालयले साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएपनि नौ लाख २३ हजार राजस्व संकलन गरेको थियो । भदौमा १३ लाख १९ रुपैयाँँ राजस्व संकलन गर्नुपर्ने लक्ष्यमा ६ लाख १९ हजार, असोजमा १३ लाख २६ हजार लक्ष्यमध्य सात लाख ८ हजार २ सय ७० रुपैयाँ संकलन भएको थियो । कात्तिकमा १२ लाख ८९ हजार लक्ष्यमध्य नौ लाख १३ हजार, मंसिरमा १३ लाख ६८ हजार लक्ष्यमध्य आठ लाख ९१ हजार, पुसमा १३ लाख २५ हजार मध्य ३० लाख ४६ हजार रुपैयाँ संकलन गरेको थियो । यो लक्ष्यको २२९.९२ प्रतिशतले बढी हो । सो महिनामा लक्ष्य भन्दा १७ लाख २१ हजार बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

माघमा १२ लाख ५४ हजार मध्य १२ लाख ४९ हजार, फागुनमा १४ लाख ४४ हजार मध्य ११ लाख, चैतमा १४ लाख ४३ हजार मध्य १० लाख ३२ हजार, वैशाखमा १३ लाख ८८ हजार मध्य नौ लाख ८७ हजार, जेठमा १५ लाख ३३ हजार मध्य २३ लाख ४३ हजारसंकलन भएको थियो । जुन लक्ष्यको १५१.९ प्रतिशत हो । असारमा १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १९ लाख ६४ हजार संकलन भएको हो । जुन लक्ष्यको १३८.६४ प्रतिशत हो । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्वसमेत कम उठेको कार्यालयले जनाएको छ । भारत प्रवेश गर्दा कडाइ गरेको कारणले यहाँबाट आवतजावत गर्नेको संख्या घट्दै गएको छ ।
कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो ।

भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँँ लिने गरेको प्रमुख विष्टले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायतका अन्य सामाग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा, अर्घाखाँचीको सुपा देउराली मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतिय नागरिकले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।

व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा विकास भएको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *