नेकपा एसका प्रमुख सचेतक मेटमणी चौधरी बिरुद्ध चेक अनादरको जाहेरी

घर सञ्चार

दाङ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ ।

बुधबार प्रहरी कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो । उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएको प्रहरीले जनाएको छ । हुलाक मार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ ।

‘जाहेरवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ । सनाखत भएपछि अनुसन्धानको नियमित प्रक्रियामा अघि बढ्छ,’ स्रोतले भन्यो, ‘हस्ताक्षर नमिलेर चेक बाउन्स भएको भन्ने कुरा छ । हामी हेर्दै छौं ।’ यस विषयमा कुराकानी गर्न एकीकृत समाजवादीका उपमहासचिव चौधरीलाई सम्पर्क गर्दा उनले फोन उठेन । चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै शहरी बिकाश मन्त्रि समेत भईसकेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *