नेपाली कला र संस्कृतिको संरक्षण आजको आवश्यकता – नगरप्रमुख चौधरी

घरसञ्चार

दाङ । लमही नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित दश दिने पन्चेबाजा सीपमूलक तालिमको समापन कार्यक्रममा नगर प्रमुख जोगराज चौधरीले पश्चिमा संस्कृतिको प्रभावका कारण समाजमा विकृति फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले त्यस्ता विकृतिलाई रोक्न नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो समय हाम्रा चाडपर्वहरूमा समेत डिजे बजाउने र उच्छृंखल गतिविधि प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको छ । “यस्ता कुसंस्कारलाई रोक्न अब हामीले हाम्रो मौलिक पहिचान बोकेको तर लोप हुँदै गएको पन्चेबाजालाई पुनः स्थापित गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले “लमही नगर निर्माण, महाअभियान” लाई सफल बनाउन सबै नगरबासीको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरपालिका एक्लैले मात्र विकास सम्भव नहुने भन्दै जनतासँग सहकार्य गरेर अघि बढ्न चाहेको स्पष्ट पार्नुभयो ।

“हामी जनता सँगै जोडिएर नगरपालिकालाई राम्रो बनाउन लागेका छौं । ‘लमही नगर निर्माण, महाअभियान’ हाम्रो साझा नारा हो,” प्रमुख चौधरीले भन्नुभयो, “सबैजना यस अभियानमा जोडिऔं, राजस्व संकलनमा ध्यान दिऔं, तब मात्रै जनताले चाहेका विकासका कामहरू प्रभावकारी रूपमा पूरा गर्न सकिन्छ ।” उहाँले राजस्व संकलनलाई विकासको आधारका रूपमा उल्लेख गर्दै समयमै कर तिर्न र नगरको समृद्धिमा योगदान गर्न नगरबासीलाई विशेष आग्रह गर्नुभयो ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगर विकास र सेवा प्रवाहमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो । पन्चेबाजा सीपमूलक तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले लोक संस्कार र संस्कृतिको जगेर्ना गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नु भयो । उहाँले नागरिकमा सकारात्मक सोचको विकास नभएसम्म अपेक्षित नतिजा प्राप्त हुन नसक्ने धारणा राख्दै जनतासँग सहकार्यको आवश्यकता औंल्याउनु भयो । “तपाईंहरूले कस्तो नगरपालिका चाहनुहुन्छ ? म त्यस्तै नगरपालिका बनाउन तयार छु, तर त्यसका लागि तपाईंहरूको साथ आवश्यक छ,” उहाँले भन्नु भयो ।

डाँगीले खोलानाला अतिक्रमण तथा चोरि निकासी नियन्त्रण जस्ता विषयमा नगरपालिकाले एक्लै काम गर्न नसक्ने स्पष्ट पार्दै नगरबासीको साथ र सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ । नगरपालिकाले नागरिकको घर–घरसम्म सेवा पुर्‍याउन तयार छ तर सेवा पाएबापत राज्यलाई कर तिर्ने दायित्व पनि नागरिकले निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार पछिल्लो समय जनताले उठाएका स–साना समस्याहरू क्रमशः समाधान हुँदै गएका छन । छोटो अवधिमै अपेक्षाभन्दा बढी राजस्व संकलन भएको जानकारी दिँदै उहाँले आन्तरिक स्रोतबाट सञ्चालन गर्न सकिने सबै कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिकाका सबै शाखा तथा वडा कार्यालयलाई निर्देशन दिइएको बताउनु भयो ।

दर्शन स्वर्गद्वारी सेवामुलक संस्थाका अध्यक्ष गोविन्दराज रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष नबराज सुवेदीले गर्नु भएको थियो । तालिममा १० जना महिला पुरुषको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थी भगवता घिमिरेले स्वागत गीतमार्फत स्वागत मन्तव्य राख्नु भएको थियो । तालिम पश्चात् तालिममा सिकेको सीपका बारेमा सहभागी पूर्णिमा घिमिरेले अनुभव सुनाउनु भएको थियो । समापन कार्यक्रममा कृष्ण प्रसाद रिजाल, विष्णु प्रसाद भुसा, पदम प्रसाद पुडासैनी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *