केसीको निधनप्रति नेपाली काँग्रेस ७ नम्बर वडा समितीद्वारा शोक सभा सम्पन्न
घरसञ्चार
देउखुरी । ७६ वर्षको उमेरमा डिल्लि बहादुर केसी (खनाल) को निधन भएको छ । उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस लमही नगरपालिका–७ नम्बर वडा समितिले एक शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
वडा सभापति सालिकराम चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यतामा शोकसभा भएको हो । शोक सभाका प्रमुख अतिथि मोहन गिरीले स्वर्गीय डिल्लि बहादुर केसी (खनाल) प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले पार्टी र समाजले एक अनुभवी, इमानदार तथा समर्पित व्यक्तित्व गुमाएको बताएका छन् । उनले केसी लामो समयदेखि नेपाली काँग्रेसको संगठन विस्तार, जनताको सेवामा सक्रिय र निष्ठावान कार्यकर्ता रहेको उल्लेख गर्दै पार्टीप्रति उनको योगदान अविस्मरणीय रहेको बताए । गिरीले भने, “उहाँजस्तो सरल, मिलनसार र जिम्मेवार व्यक्तित्व विरलै पाइन्छ, उहाँको अभाव सधैं खड्किरहनेछ।” उनले स्वर्गीय केसीले समाजमा एकता, सहकार्य र सेवा भावको उदाहरण प्रस्तुत गरेको भन्दै उनका विचार र योगदानलाई आत्मसात गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरे ।

साथै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे । सभामा काँग्रेस नेताद्वय लोकराज केसी र नारायण प्रसाद मज्गैयाँले बोल्दै डिल्लि बहादुर केसी (खनाल) एक निष्ठावान, इमानदार तथा समाजसेवामा समर्पित व्यक्तित्व रहेको उल्लेख गरे । उनीहरूले केसीले पार्टी संगठन सुदृढीकरण, सामाजिक एकता तथा जनसेवामा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए ।
शोक सभामा उपस्थित स्थानीय नेता तथा कार्यकर्ताहरूले केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए ।
साथै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको थियो । कार्यक्रममा सहभागीहरूले केसीको सरल स्वभाव, नेतृत्व क्षमता तथा समाजप्रतिको समर्पणले उनलाई सबैको प्रिय बनाएको उल्लेख गरेका थिए । उनको निधनले पार्टी तथा समाजलाई ठूलो क्षति पुगेको भन्दै उनका अधुरा सपना पूरा गर्न सबैले प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव निरञ्जन सिंहले गरेका थिए ।





