खेलकुद शिक्षा प्रणालीको अभिन्न अंग हो-मन्त्रि तिमिल्सिना

टेकबहादुर पुन

दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन ।

लमही नगरपालिकाले देउपुरमा शुरु गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्रि तिमिल्सिनाले यस्तो बताएका हुन् । “खेलकुद केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासको बलियो आधार भएको बताए उनले भने-विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न सकेमा देशले अनुशासित, आत्मविश्वासी र स्वस्थ नागरिक पाउनेछ ।”
मन्त्री तिमिल्सिनाले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले ग्रामीण तथा नगरस्तरका प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने ढोका खोल्ने उल्लेख गरे । “हामीले आज गाउँ र नगरका खेलमैदानमा देखिएका प्रतिभाहरूलाई सही मार्गदर्शन, निरन्तर अभ्यास र राज्यको सहयोगमार्फत अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सक्यौँ भने खेलकुदमार्फत पनि देशको पहिचान विश्वमा स्थापित गर्न सकिन्छ,” उनले भने । उनले प्रदेश सरकार खेलकुद पूर्वाधार विकास, प्रशिक्षक उत्पादन तथा खेलाडी प्रोत्साहनमा निरन्तर लागिरहेको जानकारी दिँदै आगामी दिनमा विद्यालय केन्द्रित खेलकुद कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए । “एक विद्यार्थी, एक खेल” को अवधारणालाई अघि बढाउँदै खेलकुदलाई पढाइसँगै जोड्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा लमही नगरप्रमुख जोगराज चौधरीले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने, नेतृत्व क्षमता विकास गर्ने र कुलतबाट टाढा राख्ने महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरप्रमुख चौधरीले लमही नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी दिनमा खेलमैदान, उपकरण तथा प्रतियोगितामा लगानी बढाउँदै लैजाने प्रतिबद्धता जनाए । नगर उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य ब्यक्त गर्दै खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने उल्लेख गर्दै सबै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको सक्रिय सहभागिताले मात्र यस्ता कार्यक्रम सफल हुने बताईन । उनले नगरपालिकाले बालबालिका तथा किशोर–किशोरी लक्षित खेलकुद कार्यक्रमलाई निरन्तरता दिने बताईन ।

लमही नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी २८ वटा विद्यालयको सहभागितामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको हो । विद्यार्थीमा अनुशासन, स्वास्थ्य, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा मार्चपाससहित विविध खेल गतिविधिहरू सञ्चालन भएका छन । लमही नगरपालिका–६ स्थित खेलमैदान (सिसौ बगर) मा शुरु भएको प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्य एबम् जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यमा उद्घाटन गरिएको हो । प्रतियोगितामा सहभागी २८ वटै विद्यालयका विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गर्दै खेलकुदप्रतिको उत्साह र अनुशासन प्रदर्शन गरेका थिए । मार्चपास प्रतियोगिताले विद्यार्थीहरूमा समूहगत भावना, समन्वय र नेतृत्व क्षमताको विकास भएको आयोजकले जनाएको छ । विभिन्न विधाका खेलहरू सञ्चालन गरिएको प्रतियोगितामा विद्यार्थी खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । प्रतियोगिताले लुकेका प्रतिभाहरू पहिचान गर्न सहयोग पुगेको शिक्षक तथा प्रशिक्षकहरूको भनाइ छ । कार्यक्रमको सहजीकरण लमही नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापा र शिक्षा शाखाकि अम्बिका शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *