पुस १९ देखि गढवामा हाट बजार सञ्चालन हुने, समुन्नती सँग तरकारी खरिद सम्झौता

आलोक भावुक

गढवा, ५ पुस । दाङ देउखुरीको गढवा गाउँपालिकामा स्थानीय कृषकको तरकारीलाई सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित पुस १९ गतेदेखि गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रमा नियमित हाट बजार सञ्चालन हुने भएको छ ।

हाट बजारमा बिक्री हुन नसकेको कृषकको तरकारी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खरिद गर्ने विषयमा समेत औपचारिक सम्झौता भएको छ । लामो समयदेखि गढवा बजारका विभिन्न स्थानमा फुटपाथमा बसेर तरकारी बिक्री गर्न बाध्य कृषकहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित गाउँपालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड मार्फत यो व्यवस्था अघि बढाएको हो। यसले कृषकलाई व्यवस्थित बजार, उचित मूल्य र बिक्रीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले साप्ताहिक रूपमा हप्ताको एक दिन शनिबार बिहान गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रमा हाट बजार सञ्चालन गर्ने निर्णय गरेको छ । हाट बजारमा बिक्री हुन नसकेको कृषकको सम्पूर्ण तरकारी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार आइतबार, मङ्गलबार र बिहिबार समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवा गाउँपालिकाभित्र उत्पादन भएको तरकारी नियमित रूपमा खरिद गर्नेछ । यस व्यवस्थाले किसानलाई उत्पादनपछि बजारको चिन्ताबाट मुक्त गराउने र व्यावसायिक तरकारी खेतीप्रति आकर्षण बढाउने विश्वास लिइएको छ । गढवा गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको व्यवसायिक विकासका लागि भिटा परियोजना अन्तर्गत हेफर प्रोजेक्ट नेपाल तथा ग्रामीण महिला उत्थान केन्द्र, घोराही दाङसँग सहकार्य गर्दै उत्पादन, बजारीकरण र उद्यम प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको परिसरमा सम्पन्न संयुक्त बैठकले हाट बजार सञ्चालन तथा तरकारी खरिद सम्बन्धी निर्णय अनुमोदन गरेको हो ।

बैठकमा भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, गढवा सामाजिक महिला उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा राउत क्षेत्री, सचिव मिना क्षेत्री, व्यवस्थापक रम्भुनाथ चौधरी, समुन्नती महिला उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष अञ्जु चौधरी, आईएएलभिसी परियोजनाका व्यवसाय विकास अधिकृत, कृषि प्राविधिक नारायण खत्री र उषा चौधरी, बजार व्यवस्थापन समिति सदस्य सर्मिला चौधरी, प्रशोधन व्यवस्थापन समिति व्यवस्थापक सिउ चरण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय उत्पादनको बजारीकरण, किसानको आम्दानी वृद्धि तथा कृषि आधारित स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा यो पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *