लमही नगरपालिकाको सार्वजनिक सुनुवाई, सुशासन र सेवा प्रवाहप्रति कडा प्रश्न
घरसञ्चार
लमही । लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथा २०८२ र २०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा लमहीको सार्बजनिक बगैचामा भएको कार्यक्रममा नगरबासीले सेवा प्रवाह, सुशासन र विकास निर्माणका विषयमा कडा असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिकाले यसरी नगरबासीसँग सार्बजनिक स्थलमा गरेको यो कार्यक्रम पहिलो हो ।
सार्वजनिक सुनुवाईमा नगरका विभिन्न वडाबाट आएका सर्वसाधारण, उपभोक्ता समिति, सामाजिक संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईका क्रममा नगरबासीहरु युबराज पौडेल, रबिन्द्र जिसी, प्रशान्त बसेल, सुरज पाण्डे, डिल्लिराज खनाल लगायतले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा, पुरानै हाकिम ल्याइनु पर्ने कारण, नगरपालिकाका अधिकृत चढ्ने सरकारी गाडीको दुरुपयोग र दुर्घटना, त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा गम्भीर प्रश्न उठाएका थिए । त्यस्तै, उपभोक्ता समितिमार्फत सञ्चालन भएका योजनामा मनपरी रूपमा रकम कटौती हुने, पारदर्शिता नदेखिएको र वास्तविक उपभोक्ता ठगिने गरेको गुनासो पनि सुनुवाईमा उठाइएको थियो । स्थानिय ई.आकाश शर्माले पालिका माथी बिभिन्न ९ वटा प्रश्न सहितको ब्यानर हस्तान्त्रण गरे ।

सहभागी नगरबासीले नदिजन्य पदार्थ (बालुवा, गिट्टी, ढुंगा) को चोरी निकासी खुलेआम भइरहेको भन्दै सम्बन्धित निकायको कमजोरीप्रति आक्रोश व्यक्त गरेका थिए । वडा कार्यालय तथा नगरपालिकाका शाखा कार्यालयबाट अपेक्षित सेवा नपाएको, सामान्य कामका लागि पनि पटक–पटक धाउनुपर्ने अवस्था रहेको गुनासो सुनुवाईमा व्यापक रूपमा उठेको थियो । “समृद्ध नगर” को नारा व्यवहारमा नदेखिएको भन्दै जनताले समृद्धि कहिले अनुभूति गर्न पाउने ? भन्ने प्रश्नले कार्यक्रमलाई थप ताताएको थियो ।

नगरबासीका प्रश्नको जवाफ फर्काउँदै प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र बहादुर डाँगीले प्रशासकीय सरुवा संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको स्पष्ट पारे । उनले सरुवाका बाबजुद नगरपालिकाले सेवा प्रवाहलाई निरन्तरता दिन प्रयास गरिरहेको बताए । उनले आगामी योजना सुनाउदै आफ्नो दुईबर्षे कार्यकालमा नगरबासीले सोचे अनुरुप समृद्ध नगर निर्माणमा अग्रसर रहने प्रतिबद्धता ब्यक्त गरे । नगरमा भएका टोल बिकाश सँस्थाहरुको अडिट पालिकाले नै गर्नेगरी बजेट बिनियोजन गर्ने बताउँदै उनले राजस्व संकलनलाई प्रमुख प्रथामिकताले अघि बढ्ने जनाए ।
नगरप्रमुख जोगराज चौधरी ले सार्वजनिक सुनुवाई जनताको अधिकार भएको उल्लेख गर्दै उठेका प्रश्नलाई गम्भीर रूपमा लिइएको बताए । उनले सरकारी गाडी दुरुपयोग र दुर्घटनाको विषयमा पुर्ब प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई सहयोग गर्न पुगेको गाडी फर्किदा दुर्घटना परेको बताए । छानबिन पश्चात् ड्राईभरलाई कारबाही भईसकेको र गाडी मर्मतको अबस्थामा रहेको बताए । नगरप्रमुख चौधरीले नदिजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी नियन्त्रण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै अनुगमन संयन्त्रलाई थप कडा बनाइने बताए । साथै उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिने उनको भनाइ थियो ।

नगर उपप्रमुख लक्ष्मी योगी ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने बताउँदै सेवाग्राहीमैत्री सेवा प्रवाहमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरिन् । वडासँग सम्बन्धित विषयमा उठेका प्रश्नमा वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेल, वडा नं. २ का नेपालु चौधरी, वडा नं. ३ का मनोज कुमार चौधरी, वडा नं. ५ का ओमप्रसाद सुबेदी र वडा नं. ६ का श्याम नारायण चौधरी ले आ–आफ्नो वडाको अवस्था, समस्या र आगामी योजनाबारे प्रस्ट पारे ।
वडाध्यक्षहरूले बजेटको सीमितता र प्राविधिक जटिलताका कारण केही योजना ढिलाइ भएको स्वीकार गर्दै आगामी दिनमा जनगुनासो सम्बोधन गर्दै पारदर्शी विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजिकरण देउखुरी सञ्चार केन्द्र (रेडियो हाईबे) कि प्रबन्ध निर्देशक लिला शाहले गरेकि थिईन । कार्यक्रमले लमही नगरपालिकामा जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवाद को वातावरण सिर्जना गरेको सहभागीहरूको भनाइ छ । सार्वजनिक सुनुवाईमार्फत उठेका सवालले नगरपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहिता अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।





