आँखा जाँच गर्दै चस्मा बिक्रि गर्ने ठाउँ-हेमनेत्र आँखा उपचार केन्द्र सञ्चालनमा

घरसञ्चार

देउखुरी । लमहीको नयाँ बजार क्षेत्रमा आधुनिक सुविधा सम्पन्न हेमनेत्र आँखा उपचार केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि आँखा उपचार तथा सेवा क्षेत्रमा अनुभव बटुलेका लालबहादुर चौधरीले अवकाश पश्चात पनि समुदायलाई निरन्तर सेवा गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरेका हुन् ।

चौधरी आँखा स्वास्थ्य क्षेत्रमा ३१ वर्षको समृद्ध अनुभव बोकेर लमहीमा केन्द्र सञ्चालनमा ल्याएका हुन् । चौधरीले आफ्नो सेवायात्रा २०४८ देखि २०४९ सालमा गेटा आँखा अस्पतालबाट सुरु गरेका थिए । त्यसपछि उनी २०४९ देखि २०६५ सम्म राप्ती आँखा अस्पताल, रक्षाचौरमा कार्यरत रहे । पछिल्लो समय भने उनले २०६६ सालदेखि २०८२ सालसम्म लमही आँखा अस्पतालमा निरन्तर सेवा प्रदान गर्दै आए । लामो अनुभव, जनविश्वास र सेवाप्रति रहेको समर्पण नै अवकाशपछि पनि समुदायसँगै रहने प्रेरणा भएको चौधरीको भनाइ छ । “अवकाश भनेको सेवा रोक्नु होइन, अझ बढी प्रभावकारी रूपमा जनतासँग जोडिन पाउने अवसर हो,” उनले बताए ।

हेमनेत्र आँखा उपचार केन्द्रमा दैनिक रूपमा आँखा चस्मा, पावर चस्मा तथा सनग्लास ग्राहकको आवश्यकताअनुसार निर्माण तथा वितरण गरिने छ । अत्याधुनिक मेसिनमार्फत आँखा जाँच, पावर परीक्षण, दृश्य क्षमता मूल्याङ्कन लगायतका सेवा नियमित रूपमा उपलब्ध हुने व्यवस्थापक चौधरीले बताए । आवश्यकता अनुसार औषधि वितरण तथा प्राथमिक उपचारसमेत केन्द्रमै उपलब्ध छ । लमही क्षेत्रमा अत्याधुनिक उपकरणसहित आँखा उपचार सेवा दिने यो पहिलो निजी केन्द्र भएकाले स्थानीयवासी छुट्टै उत्साह थपिएको छ । पहिले चस्मा बनाउन वा आँखाको विशेषज्ञ परीक्षण गराउन विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता भएकाले नयाँ केन्द्रले ठूलो सहजता मिलाउने अपेक्षा गरिएको छ ।

केन्द्रमा आँखा तथा चस्मासम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा उपलब्ध हुने भएकोले विद्यार्थी, ज्येष्ठ नागरिक, कामकाजी वर्ग तथा नियमित चस्मा प्रयोगकर्ताहरूका लागि सुविधा बढ्ने बिश्वास गरिएको छ । सेवा, गुणस्तर र सहज पहुँचलाई मुख्य प्राथमिकतामा राखी आफू निरन्तर रूपमा समुदायको भरोसा जित्ने लक्ष्य रहेको चौधरीको भनाइ छ । हेमनेत्र आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै लमहीमा आँखा स्वास्थ्य सेवाको पहुँच अझ विस्तारित भएको छ र त्यसले स्थानीय स्वास्थ्य क्षेत्रमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

केन्द्रको अनुगमन गर्दै लमही चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सितल भुषालले नयाँ बजारमा खुलेको आँखा सेवा केन्द्रले लमहीको स्वास्थ्य सेवामा नयाँ ऊर्जा थप्ने भन्दै प्रशंसा गरे । भुषालले भने, “लमहीमा अत्याधुनिक उपकरणसहित आँखा चेकजाँच सुविधा उपलब्ध हुनु समुदायका लागि ठूलो उपलब्धि हो । अब सामान्य परीक्षणदेखि गुणस्तरीय चस्मा निर्माणसम्मको काम केन्द्रले गर्नेछ । यसले स्थानीय व्यापारीक गतिविधि मात्र बढाउँदैन, नागरिकलाई सहज र गुणस्तरीय सेवा पनि प्रदान गर्छ ।” उनले स्थानीय क्षेत्रमा आउने सेवाहरूलाई प्रोत्साहन गर्नु चेम्बरको मूल उद्देश्य रहेको उल्लेख गर्दै चौधरीजस्ता अनुभवी व्यक्तिबाट सञ्चालित केन्द्र सफल हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *