नेपाली काँग्रेस नेता बुढा मगरको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न

टेकबहादुर पुन

लमही । नेपाली काँग्रेसका नेता तथा क्षेत्रिय प्रतिनिधि शेरबहादुर बुढा मगरको निधन भएको सातौँ दिनमा नेपाली काँग्रेस लमही नगर समितीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

पार्टीका समर्पित, इमानदार र सदैव संगठन विस्तारमा अग्रसर बुढा मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न तह–स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली काँग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्यमा शोकसभा भएको हो । प्रमुख अतिथी मोहन गिरीले बुढा मगरको निधनले पार्टीले समर्पित कार्यकर्ता मात्र गुमाएको होइन, समाज सेवामा रमाउने एक जुझारु व्यक्तित्व पनि हराएको बताए । उनले बुढा मगरले संगठन बलियो बनाउन गरेका अनेक योगदानहरू सम्झँदै पार्टीले उनको श्रम र समर्पणलाई सदैव कदर गर्ने उल्लेख गरे । स्व बुढामगरले देखाएको बाटोलाई सधै पछ्याउनुका साथै उनले देखेका सपना साकार पार्न सदैब प्रतिनिधीको हिसाबले अग्रसर रहने प्रतिबद्धता ब्यक्त गरे ।

विशिष्ट अतिथिका रूपमा उपस्थित लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले दिंवगत बुढा मगरको सरल, मिलनसार र समाज उपयोगी व्यक्तित्वको चर्चा गरिन । उपप्रमुख योगीले उहाँले जनताका सुख–दुःखमा सधैँ साथ दिएको र समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका खेलेको उल्लेख गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिन । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस लमही नगर सभापती सन्तोष बुढाथोकीले शोक मन्तव्य राख्दै बुढा मगरको पार्टीप्रतिको इमान्दारिता, लगनशीलता तथा अनुशासित कार्यशैली आजका कार्यकर्ताका लागि प्रेरणादायी रहेको बताए । उनले बुढा मगरले संगठनलाई नजिकबाट सुदृढ बनाउने कार्यमा जीवनभर सक्रिय भूमिका खेलेको जनाउँदै उनको सम्झना सधैँ जीवित रहने बताए । कार्यक्रममा लमही वडा नं. ७ का सभापति शालिकराम चौधरी लगायतका बक्ताले शोक मन्तब्य राखेका थिए ।

लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बुढा मगरको गत मंसिर ९ गते ७८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि पार्टी निर्माण, निर्वाचन तयारी तथा सामाजिक अभियानमा सक्रिय उहाँको निधनले काँग्रेस परिवार मात्र होइन, सम्पूर्ण समाज शोकाकुल बनेको सभामा वक्ताहरूले उल्लेख गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस लमही नगर समितिका सचिव प्रेम कालाथोकीले गरेका थिए । अन्त्यमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *