जेनजी आन्दोलनमा लुम्बिनी प्रदेशभरी सबैभन्दा बढी क्षति दाङमा

घरसञ्चार
दाङ, २ असोज । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशभर दुई सय ५३ वटा भौतिक संरचनामा तोडफोड तथा आगजनी भएको छ । सरकारी, पार्टी र निजी संरचना तोडफोड तथा आगजनीमा परेका छन् । इन्सेकले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार, १२ जिल्लामध्ये सबैभन्दा बढी क्षति दाङमा भएको छ ।
दाङमा मात्रै ५० सरकारी कार्यालयसहित ७५ संरचनामा क्षति पुगेको इन्सेक प्रदेश संयोजक भोला महतले जानकारी दिनुभयो । घोराहीमा ४५, तुलसीपुरमा २४ र लमहीमा सातवटा संरचना तोडफोड तथा आगजनीमा परेका छन् । घोराहीमा मालपोत, नापी, उपमहानगरपालिकाका वडासहित अदालत, सरकारी वकिल, खानेपानी, सडक डिभिजन, हुलाक, ट्राफिक प्रहरी कार्यालयलगायतमा क्षति पुगेको छ । तुलसीपुर क्षेत्रमा उच्च अदालत, सरकारी वकिल कार्यालय, लोकसेवा आयोग, आयल निगम, सिँचाइ, भूसंरक्षण, आन्तरिक राजस्वलगायतमा आगजनी गरिएको छ ।
लमहीमा नगरपालिकाको कार्यालय र प्रदेश मन्त्री निवाससमेत क्षतिग्रस्त बनेका छन् । घोराहीको जेसीज भवन, होटेल मालाइन र तुलसीपुरको बहुउद्देश्यीय व्यापारिक टावरमा समेत आगजनी गरिएको छ । राजनीतिक दलका कार्यालय र नेताका घरमा समेत क्षति पुगेको छ । दाङमा मात्रै नेकपा एमाले, कांग्रेस र माओवादीका १० पार्टी कार्यालयमा आगजनी भएको छ । एमाले महासचिव शंकर पोख्रेल, केन्द्रीय सदस्य कोमल वली र हिराचन्द्र केसीको घरमा समेत आगजनी भएको छ भने कांग्रेस नेता गेहेन्द्र गिरी, प्रदेश सांसद राजु खनाल र घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीको घरसमेत क्षतिग्रस्त बनेका छन् ।
दाङपछि सबैभन्दा बढी क्षति बाँकेमा ४७ संरचनामा पुगेको छ । यस्तै रुपन्देहीमा ३८, नवलपरासीमा ४३, बर्दियामा ५, अर्घाखाँचीमा ९, प्युठानमा ५ र गुल्मीमा ३ संरचना ध्वस्त भएको इन्सेकले जनाएको छ । पाल्पा, रोल्पा र रुकुमपूर्वमा भने क्षति नभएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । इन्सेकले यो प्रारम्भिक विवरण भएको र विस्तृत प्रतिवेदन चाँडै सार्वजनिक गर्ने जनाएको छ ।