बधिया भालेको पहिचान बोकेको बुह्रान कृषि फर्म: कृषिमा नयाँ आयाम थप्दै

टेकबहादुर पुन
देउखुरी । देउखुरीको लमही-६ देउपुरस्थित बुह्रान बहुउद्देश्यीय कृषि फर्मले स्थानीयस्तरमै नभई राष्ट्रिय बजारमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । करिब ६ वर्षअघि स्थापित यो फर्म अहिले वार्षिक झण्डै १ हजार बधिया भाले उत्पादन गरी देशका पोखरा, काठमाडौं, चितवनजस्ता ठूला बजारमा बिक्री गर्दै आएको छ। कृषिमा उद्यमशीलता, आधुनिक सोच र निरन्तरताको उत्कृष्ट उदाहरणका रूपमा यो फर्मले कृषक र व्यवसायी समुदायबीच विशेष स्थान बनाएको छ ।
३० कठ्ठा क्षेत्रफलमा फैलिएको यो फर्मका सञ्चालक कमल जंग सिंह ठकुरी हुन्, जो हाल देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका छन् । उनको नेतृत्वमा फर्मले दाङको कृषिक्षेत्रमा “कृषि क्रान्ति” ल्याउने उद्देश्यसहित व्यवस्थित र व्यावसायिक तरिकाले बधिया भाले पालनलाई अगाडि बढाएको छ । सञ्चालक ठकुरीका अनुसार, सुरुका दिनहरू निकै चुनौतीपूर्ण थिए । किसानलाई परम्परागत कृषि प्रणालीबाट बाहिर ल्याएर व्यावसायिक उत्पादनमा जोड दिन प्रेरित गर्नु सजिलो थिएन । तर, दृढ संकल्प र निरन्तर लगानीका कारण अहिले बुह्रान फर्मले प्रदेशमै नमुना फर्मको स्वरूप लिएको छ । “हामीले कृषि क्षेत्रलाई जीवन र व्यवसायको प्रमुख आधार मान्यौं । त्यसैले किसान मात्र नभई कृषिमा व्यवसायी भएर अघि बढ्नुपर्छ भन्ने सोचका साथ यो फर्म सञ्चालन गरेका हौं,” ठकुरीले बताए ।

फर्ममा उत्पादन हुने बधिया भालेको गुणस्तर उच्च भएकाले बजारमा यसको माग निरन्तर बढिरहेको छ । पोखरा, काठमाडौं, चितवनजस्ता प्रमुख सहरमा बिक्री हुने यस उत्पादनले स्थानीय किसानलाई पनि प्रेरणा दिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै गाउँमै उत्पादन हुने स्रोतलाई प्रयोग गरेर ठूलो बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने प्रमाण फर्मले देखाएको छ । फर्मले केवल बधिया भाले उत्पादनमा सीमित नभई अण्डा उत्पादन, भैंसी पालन र कृषि उत्पादनमा पनि विस्तार गर्ने योजना बनाएको छ । आगामी दिनमा फर्मलाई अझ व्यवस्थित बनाउँदै दुग्ध व्यवसाय, तरकारी तथा फलफूल उत्पादनमा समेत जोड दिने सञ्चालक ठकुरीले जानकारी दिए । उनले भने, “हामीले कृषिलाई आधुनिक बनाउने र युवालाई कृषिप्रति आकर्षित गर्ने लक्ष्य राखेका छौं । यसका लागि प्राविधिक ज्ञान, अनुसन्धान र लगानीलाई जोड दिन जरुरी छ ।”
बुह्रान बहुउद्देश्यीय कृषि फर्मले कृषिमा आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याभैँसी । दाङमा रहेका सयौं युवालाई कृषिप्रति आकर्षित गर्ने खालका सफल अभ्यासहरूमा यस फर्मलाई गणना गर्न सकिन्छ । विशेषगरी वैदेशिक रोजगारतर्फ आकर्षित हुने युवालाई कृषि क्षेत्रमै उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश यसले दिएको छ । सञ्चालक ठकुरी कृषिलाई “इज्जतिलो पेशा” बनाउन निरन्तर सक्रिय छन् । उनले कृषिमा लगानीलाई केवल जीविकोपार्जनका लागि नभई आधुनिक व्यवसायका रूपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार, राज्यले पनि किसानमैत्री नीति ल्याएर निजी क्षेत्रसँग सहकार्य गर्ने हो भने नेपालमा कृषिले देशको अर्थतन्त्रलाई धान्ने खम्बा बन्नेछ ।
६ वर्षदेखिको निरन्तरता, व्यवस्थित व्यवस्थापन, बजारको पहिचान र गुणस्तरीय उत्पादनका कारण बुह्रान बहुउद्देश्यीय कृषि फर्म अहिले प्रदेशमै मात्र नभई मुलुकभर चर्चामा आएको छ । कृषिमा सम्भावना देख्ने तर आस्था र लगानी गर्न हिच्किचाउनेहरूप्रति यो फर्म प्रेरणाको स्रोत बन्न सक्ने अवस्था छ । यसरी हेर्दा, देउखुरीको कृषिक्षेत्रमा फर्मले देखाएको मार्गदर्शन, सफलता र योगदानलाई “कृषि क्रान्ति”को रूपमै लिन सकिन्छ । कृषिलाई व्यवसायमा परिणत गर्दै राष्ट्रको समृद्धि तर्फ लैजान सकिन्छ भन्ने ठोस उदाहरण बुह्रान बहुउद्देश्यीय कृषि फर्मले प्रस्तुत गरेको छ ।