अरुको ज्यान जोगाउन लमहीमा ५५ जनाले गरे रगतदान

घरसञ्चार
देउखुरी । “स्वार्थभन्दा माथि सेवा” भन्ने मूल मन्त्रका साथ रोटरी क्लब अफ लमही, दाङले शुक्रबार लमही बजारमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लमहीमा भएको रक्तदान कार्यक्रममा कुल ५५ जनाले स्वेच्छाले रक्तदान गरेका छन् ।
रोटरी क्लब अफ लमहीका अध्यक्ष श्यामलाल भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष भण्डारीले कार्यक्रममा बोल्दै रक्तदानलाई सामाजिक जीवनको महान् कार्यको संज्ञा दिँदै यस किसिमको अभियानले समुदायमा मानवता र परोपकारको संस्कारलाई अझ सबल बनाउने विश्वास व्यक्त गरे । उनले भने, “रगतदान जीवनदान हो । एक थोपा रगतले पनि कसैको ज्यान बचाउन सक्छ । त्यसैले नियमित रक्तदानको संस्कार बसाल्नुहुन अनुरोध छ ।”

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ लमहीका उपाध्यक्ष लोकमान रिजालले रक्तदानमा सहभागिता जनाउने सबै दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रमले लमहीमा सामूहिक सेवाभावलाई बलियो बनाएको बताए । उनले सामाजिक सेवामा रोटरी क्लब निरन्तर क्रियाशील रहेको स्मरण दिलाउँदै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तरता दिने प्रतिवद्धता जनाए । नेपाल रेडक्रस सोसाइटी, लमही रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सुरक्षित, स्वास्थ्यअनुकूल र व्यवस्थित बनाउन प्राविधिक टोली खटाइएको थियो । रक्तदाताहरुको स्वास्थ्य परीक्षण गरी मात्र रगत संकलन गरिएको थियो । सहभागीहरुको अनुसार, रक्तदानले आफैंमा आनन्द र सन्तुष्टि दिलाएको छ । सहभागी प्रमोद गौतमले भने, “हाम्रो सानो योगदानले पनि कसैको जीवन जोगिन सक्छ भन्ने सोचले गर्दा आज रगतदान गर्न पाउँदा गर्व लागेको छ ।”

रक्तदान कार्यक्रममा विद्यार्थी, समाजसेवी, नेपाल प्रहरी, व्यापारी, पत्रकार र स्थानीय नागरिकहरुको सहभागिता थियो । ५५ जना व्यक्तिले रक्तदान गरेपछि यस अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजकको भनाइमा नियमित रक्तदानको संस्कृति बसाल्न सके भविष्यमा रक्त अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउनु पर्ने छैन । रोटरी क्लब अफ लमही विगतदेखि नै स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय रहँदै आएको छ । यसअघि पनि क्लबले नि:शुल्क स्वास्थ्य शिविर, वृक्षारोपण कार्यक्रम, शैक्षिक सामग्री वितरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । क्लबले आगामी दिनमा अझ व्यापक सेवा अभियान सञ्चालन गर्ने योजना बनाइरहेको जानकारी पनि दिइएको छ ।
कार्यक्रममा विभिन्न वक्ताहरुले नियमित रक्तदानलाई जीवनशैलीमै उतार्नुपर्ने आवश्यकता औंल्याए । उनीहरुले रगतदानले केवल अरुको मात्र नभई दाताको स्वास्थ्यलाई पनि फाइदा पुग्ने तथ्य प्रस्तुत गरे । चिकित्सकहरुको भनाइ अनुसार, नियमित रक्तदानले मुटु रोगको सम्भावना कम हुने, शरीरमा नयाँ रगत उत्पादनलाई प्रवर्द्धन गर्ने र मानसिक सन्तुष्टि प्रदान गर्ने गर्दछ ।