राप्ती गाउँपालिकालाई राप्ती उद्योग वाणिज्य संघद्वारा सम्मान

भिसुन शाही
भालुबाङ भदौ १९ । राप्ती उद्योग वाणिज्य संघले राप्ती गाउँपालिकालाई सम्मान गरेको छ । विशेष कार्यक्रमको आयोजना गरि बाणिज्य संघले पालिका अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण कर्मचारीलाई सम्मान गरेको हो ।

नेपाल अधिराज्य भरका ७५३ वटा पालिका मध्य दाङको राप्ती गाउँपालिका आधारभूत स्वास्थ्य सेवा क्षेत्रमा देशकै उत्कृष्ट पालिका घोषित भएको अवसरमा सम्मान गरिएको हो । स्वास्थ्य खबरद्वारा आयोजित हेल्थ अवार्ड–२०८२ मा राप्ती गाउँपालिकाले प्रथम स्थान हांसिल गरेको हो । समारोहमा संघका निवर्तमान अध्यक्ष जगत प्रसाद पोख्रेलले गाउँपालिकाको सफलतामा अझ निरन्तरता दिन सुझाव र सल्लाह दिए । त्यस्तै संस्थापक अध्यक्ष तथा सल्लाहकार होम प्रसाद शर्माले पनि आफ्ना शुभकामना व्यक्त गरे ।

कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखा मसुरियाका जनस्वास्थ्य निरीक्षक पदम पाण्डेले पालिकावासी, स्थानीयवासी तथा कर्मचारीहरूको निरन्तर सहयोगकै कारण पालिकाले देशकै उत्कृष्टता हांसिल गर्न सफल भएको धारणा राखे । त्यसैगरी गाउँपालिका उपाध्यक्ष कमलपती चौधरीले संक्षिप्त मन्तव्य दिँदै पालिकाको सफलता साझा उपलब्धि भएको बताईन । कार्यक्रममा प्रमुख अतिथि तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले पालिकाले देशकै पहिलो स्थानमा आउन स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिको महत्वपूर्ण योगदान रहेको प्रष्ट पारे । उनले अझै पनि पालिकालाई उत्कृष्ट बनाउन सबैलाई सहकार्य र सहयोग गर्न आग्रह गरे । साथै उनले हाल अन्तरिक्ष यात्राको अन्तिम चरणमा पुगेकी नेपाली चेली ज्योति केसीलाई सफलताको शुभकामना दिँदै सहयोग गर्न सबैसँग आग्रह गरे ।
राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । संघका बरिष्ठ उपाध्यक्ष बसन्त गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव वासुदेव न्यौपानेले गरेका थिए ।