अखिल नेपाल शिक्षक संगठन दाङको तेस्रो जिल्ला बैठक सम्पन्न

श्रवण कुमार यादव
दाङ । अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला समितिको तेस्रो जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम आईतबार घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नेता सबिन सीले शिक्षा, समाजवाद र राजनीतिक पुनर्गठनका विषयमा धारणा राख्दै नयाँ वैज्ञानिक समाजवादको आवश्यकता औँल्याएका छन् । उनले भने, “हाम्रो पार्टीको लोकप्रियता दिनप्रतिदिन बढ्दैछ, अटोग्राफ बढिरहेको छ, तर गाउँ-गाउँमा अझै हाम्रो भौतिक उपस्थिति सुनिश्चित गर्न बाँकी छ। अब त्यो काम हाम्रो प्राथमिकता हो ।” समाज परिवर्तनको यो यात्रामा नयाँ सुन्दर सन्तान जन्मिँदैछ, जुन वैज्ञानिक समाजवादको नयाँ रूप हो । यो जनतासँग जोडिएको संघर्ष हो, बन्दुक होइन विचार नीति र स्पष्ट धारणा बोकेर अघि बढ्ने यात्रा हो उनले थपे ।

शिक्षा क्षेत्रलाई समेत परिवर्तनको मूल आधारका रूपमा जोड्दै उनले शिक्षकमाथि हुने कुनै पनि अन्याय, विभेद वा हस्तक्षेपको विरुद्धमा पार्टी सधैं बोल्ने प्रतिबद्धता ब्यक्त गरे । “शिक्षकले आफूलाई मोडेल शिक्षकका रूपमा विकास गर्नुपर्छ। विषयगत शिक्षणमा उत्कृष्टता ल्याएर विद्यार्थीलाई गुणस्तरीयरूपमा शिक्षित पार्नुपर्छ,” सबिन सीले बताए ।कार्यक्रमका अर्का अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य विकास सीले शिक्षा र समाजवादबीचको घनिष्ठ सम्बन्धलाई जोड्दै शिक्षक संगठनको जिम्मेवारी अझ गहिरो र महत्वपूर्ण रहेको बताए ।
त्यस्तै जिल्ला बैठकमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव निर्मला डिसीले संगठनको केन्द्रिय सर्कुलर, शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धि र अहिले पारित हुन लागेकाे शिक्षा बिधेयक विषयक आन्दोलनकाे सर्कुलर लगायतका कुराहरुमा प्रशिक्षण मुलक भनाइ राखेकि थिईन । अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशको उपाध्यक्ष कविता खनालले अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय समिति बैठकबाट गरेकाे निर्णयको सर्कुलरकाे बारेमा जानकारी गराईन् ।कार्यक्रममा जिल्ला भित्रका १० वटै स्थानीय तहका शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो । संगठनका जिल्ला अध्यक्ष धनिराम घर्तिमगरको अध्यक्षतामा भएको हो ।