साइबर अपराध विरुद्ध सांग्रिला बैँक गढवाको वित्तीय साक्षरता

घरसञ्चार
गढवा, १४ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गढवा शाखाले गढवा गाउँपालिका–६ मदपुर स्थित नसहवा सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरूलाई लक्षित गरी शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
दाङ सब–क्लस्टर हेड आस कुमार जरेजुको अध्यक्षता तथा गढवा गाउँपालिका–६ नम्बर का वडा सदस्य गोविन्दबहादुर रोकाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । करिब ५०–६० जना उपभोक्ता तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा हाल बढ्दै गएको साइबर क्राइम, ठगी तथा विभिन्न किसिमका स्क्यामिङबारे सचेतना मुलक जानकारी दिनुका साथै बचत, ऋण, बीमा र रेमिट्यान्ससम्बन्धी विषयमा जानकारी दिइएको थियो ।

प्रशिक्षण दिँदै सांग्रिला बैंक गढवा शाखाका प्रबन्धक तेजबहादुर नेपालीले वित्तीय साक्षरताले मात्र सुरक्षित र दिगो वित्तीय व्यवहार सम्भव हुने बताए । “आजको डिजिटल युगमा बैंकिङ सेवासँगै सचेतना अनिवार्य छ। वित्तीय ज्ञानले मात्र ग्राहकलाई ठगी, धोका र अनलाइन अपराधबाट जोगाउन सक्छ,” नेपालीले भने । कार्यक्रमको सहजीकरण शाखाका कर्जा कर्मचारी देव नारायण चौधरीले गरेका थिए ।