देउखुरीमा उद्यमशिलता बारे बहस: सरकारको अस्पष्ट नितीले ब्यबसाय धरापमा

घरसञ्चार
देउखुरी, १४ भदौ । स्थानीय स्तरमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न दाङ देउखुरीमा उद्यमशीलता बढाउनु आजको आवश्यकता बनेको छ । युवाशक्ति, प्राकृतिक स्रोतसाधन र कृषि–उद्योगमा देखिएका सम्भावनाले यहाँ उद्यम गर्न ठूलो अवसर रहेको विशेषज्ञहरूको भनाइ छ ।
तर, यहाँका युवाले उद्यम गर्न चाहँदा अझै धेरै चुनौतीहरू छन् । पर्याप्त लगानीको अभाव, व्यावसायिक सीपको कमी, बजार व्यवस्थापनमा समस्या, सरकारी नीतिहरूमा स्पष्टता नहुनु र बैंक तथा वित्तीय संस्थाबाट सजिलै ऋण नपाइनु मुख्य अवरोधका रूपमा देखिन्छ । साथै, गाउँघरमा उद्यमशीलता प्रति अझैपनि ‘जोखिम’ को मानसिकता प्रबल छ, जसले नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बन्न सकेको छैन ।
यद्यपि, दाङ देउखुरीलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना सहित लमहीमा उद्यमशिलता बारे बृहत् बहस भएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीले देउखुरीका चार पालिकाका उद्यमी, ब्यबसायी तथा स्थानियहरुको उपस्थितीमा बहस चलाएको हो । छलफलका क्रममा बोल्ने अधिकांस उद्यमीहरु तथा केही गरौ भन्ने युवाहरुले लगानीको अभाबले पछि परिरहेको बताए । ऋण प्रवाह गर्ने बैँक तथा बित्तिय सँस्थाहरुले पनि साना उद्यमीलाई विभिन्न बहानामा ऋण दिन आनाकानी गर्ने गरेको स्थानिय प्रशान्त बसेलले बताए । उनले आफू कृषि उद्यमी भएको र बैँकबाट ऋण माग गर्दा आनाकानी गर्ने गरेको र दिईहालेपनि चर्को ब्याजदर लागू गर्ने गरेको गुणासो गरे । जसका कारण उद्यमीबाट आफू पलायन हुने अबस्था आएकोमा चिन्ता ब्यक्त गरे ।

उनिजस्तै साना उद्यमीहरुमा थुप्रै समस्याहरु देखा परेका छन् । कतिपय उद्यमीहरुले आफुले उत्पादन गरेका सामान बेच्ने बजार नपाउदा उत्पादित सामान त्यसै थन्किरहेको गुणासो गरे । विगत ३ वर्षदेखि राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा बाँसका विभिन्न सामान उत्पादन गर्दै आएकी कलावति चौधरीले आफुले उत्पादन गरेको वस्तु बेच्ने बजार नपाएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताईन । ‘मैले पढेको छैन । अनपढ भएपनि उद्योग चलाउन थाले । मेरो उद्योगमा धेरै बासबाट बनेका सामान उत्पादन हुन्छ । तर बेच्ने बजार पाइदैन । जसका कारण उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको छ उनले भनिन् । उनले परिवारको आयस्रोत नै उहीँ उद्योग भएको बताउँदै उत्पादित सामान बिक्रिमा सरकारको स्पष्ट नीति नहुँदा परिवार नै चलाउन गाह्रो हुने गरेको सुनाईन । यस्तै, २ वर्षदेखि लमही नगरपालिका वडा नम्बर ४ बासको सामान उत्पादन गर्दै आएका बाबू रोकाको समस्या पनि उस्तै छ । रोकाको उद्योगमा उत्पादन भएको वासका सामान बजारमा बिक्री नहुने गरेको उनको पनि गुनासो छ । उद्योग सञ्चालन गर्ने आवश्यक बाँस र निगालो किन्ने धेरै खर्च लाग्ने गरेको बताउँदै रोकाले लगानी फसिरहेकोमा चिन्ता ब्यक्त गरे । यस्तै व्यवसायी-ब्यबसायी बिचमा पनि महिलामाथि विभेद हुने गरेको लमही-३ निवासी बालिका वलीले गुणासो गरिन् । उनले महिलाले केही व्यवसाय गर्दा समाजले हेर्ने दृष्टिकोण नै आफुले फरक पाएको बताईन ।
महिलाले उत्पादन गरेको सामान भनेपछि व्यापारीले पत्याउदैनन् । बिक्री भएपनि व्यापारीले केही न केही समस्या देखाएर सस्तो मुल्यमा लैजान्छन् । जसका कारण लगानी उठ्नै गाह्रो हुने गरेको छ उनले भनिन् । खासगरी कृषि उद्यमीहरुले विभिन्न बहानामा समस्या झेलिरहेका छन् । पर्याप्त ऋणको अभाब र उत्पादित सामाग्रीको बजारीकरण नहुँदा उनिहरु फस्टाउनै सकिरहेका छैनन् । देउखुरीमा कृषि उत्पादलाई प्रशोधन गरी बजारसम्म पुर्याउने, पर्यटन व्यवसाय विस्तार गर्ने, घरेलु उद्योग तथा सीपमूलक कामलाई प्रवर्द्धन गर्ने ठूलो अवसर देखिन्छ । विशेष गरी लमही, गढवा, राजपुर, राप्ती लगायतका क्षेत्रमा लघु तथा मध्यम उद्योगलाई प्रोत्साहन दिन सके रोजगारी सिर्जना मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने निश्चित छ । उद्यमशीलतालाई अघि बढाउन सरकारले सहज ऋण, प्राविधिक तालिम र बजार सुनिश्चितता दिने नीति ल्याएमा यहाँका युवाहरू विदेश रोजगारीमा निर्भर नबनी आफ्नै गाउँमा आत्मनिर्भर बन्न सक्ने अवस्था छ । उद्यमशीलताबाट रोजगारी, आर्थिक प्रगति र सामाजिक विकास दुवै सम्भव हुने हुँदा दाङ देउखुरीलाई उद्यमी बन्ने गन्तव्य बनाउन स्थानीय तह, निजी क्षेत्र र स्वयं युवाको भूमिका अपरिहार्य देखिन्छ ।

कार्यक्रममा बहस गर्दै देउखुरी उद्योग बाणिज्य संघ लमहीकि महिला उपाध्यक्ष शारदा सुबेदीले
श्रमप्रतिको अधिकार स्थापित हुन नसकेसम्म महिला श्रमिकमाथिको विभेद अन्त्य नहुने बताईन । सरकारले देशभित्र उद्यमी र युवा व्यवसाय बढाउन बर्षपिच्छे नयाँ–नयाँ रणनीति बार्षिक कार्यक्रममा ल्याउँछ । सानादेखि ठुला व्यवसायीका लागि फरक–फरक सुविधा दिने गरेको छ । तर सरकारको नीति कागजमा मात्र सिमित हुने गरेको बक्ताहरुको भनाई छ । देशभित्र विभिन्न क्षेत्रमा उद्यमी गरिरहेका व्यवसायी भने आफुले उत्पादन गरेको सामानले बजार नपाउने गरेको समस्या सरकारलाई नै बारम्बार सुनाउदै आएका छन् । लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाका उद्यम व्यवसायीले आफुहरु राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।
कार्यक्रममा हाम्रो सरकार भन्ने अनुभूति समेत गर्न नपाएको लमही-१ निवासी खगेश्वार खनालले गुणासो गरे । साना उद्यमीहरुलाई प्रोत्साहित र प्रवर्दन गर्नतर्फ सरकारले अभिभावकत्व लिन नचाहेको आभास भएको र राज्यको ब्यवस्थाले उद्यमीहरु आर्थिक रुपमा धराशायी बन्दै गएको प्रति गुणासो पोखे । उद्यम प्रबर्दन र उद्यमीले प्रोत्साहन पाउन नसकेपछि कतिपय उद्योग केही वर्षभित्रै बन्द भएका उदाहरणहरु कार्यक्रमका सहभागीले प्रष्टाएका थिए । उद्योग र उद्यमीको यो अवस्था फेर्न देउखुरी उद्योग बाणिज्य संघ लमहीले दवावमूलक अभियान बढाउनु पर्ने सहभागीले सुझाएका छन् ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलको अध्यक्षता तथा पूर्व शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यता एबम् लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै पुर्बमन्त्री मेटमणी चौधरीले आफु उद्यमीहरुको विषयमा जानकार रहेको बताउँदै सरकारले उद्यमीका समस्या समाधान गर्न नसकेको स्वीकार गरे । उनले यस क्षेत्रका उद्यमीलाई सरकारले धेरै नै उपेक्षा गरेकाले यस उद्यम तथा व्यवसायमा आवद्ध व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अघि बढ्नुपर्ने छ ।’ उनले अहिले धेरै युवाले केही उद्योग गरौँ भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा बाणिज्य संघले त्यस्तो वर्गलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अग्रसरता देखाउनुपर्ने बताए । उनले उद्यमीको समस्या समाधान गर्दै अगाडी बढ्ने बताउदै, उद्यमीका समस्या समाधान गर्न उद्यमी अनुदानका कार्यक्रमहरु संचालन गर्ने बताए ।
कार्यक्रमा देउखुरी उद्योग बाणिज्य संघ लमहीका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलले उद्यमीहरूले सामाजिक आर्थिक विकासका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै, उद्यमशील संस्कृति र सामाजिक सांस्कृतिक मापदण्डको अभावले उद्यमीहरूको प्रगतिमा बाधा पुर्याइरहेको बताए । उनले नितिनिर्माता र सरोकारवालाले यी चुनौती सम्बोधन गर्न नीतिगत सुधार, क्षमता विकास, वित्तमा पहुँच र पूर्वाधार विकास, बजार विश्लेषण, उत्पादित वस्तु वा सेवाको बजारीकरण, बजारमुखी शिक्षा र व्यावसायिक तालिम, उत्पादित वस्तुका लागि बजार पहुँचको ग्यारेन्टी गर्दै व्यापक रणनीतिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । देउखुरी उद्योग बाणिज्य संघ लमहीका उद्योग उपाध्यक्ष इश्वर प्रकाश श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव हरीबहादुर थापाले गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । नेपाल यु.एस अल्मुनाई नेटवर्क (नुसान)को आल्मुनाई स्माल ग्रान्टको प्राविधिक सहयोगमा ‘देउखुरी उद्यमी संगम’ कार्यक्रम सम्पन्न भएको हो ।