बिराजको ‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्दै टिकटकर आयुष

घरसञ्चार
काठमाण्डौ । चर्चित टिकटकर तथा कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्ने भएका हुन् । सोमबार फिल्मको निर्माणपक्ष र आयुषले कागजी सम्झौता गरेका छन् । निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी सम्झौता गरे । यो फिल्ममा यसअघि विराज भट्ट, सुशील श्रेष्ठलगायत कलाकारहरू अनुबन्धित भइसकेका छन् ।
फिल्म साइन गरेपछि आयुषले आफूलाई थुप्रै फिल्मबाट अफर आइरहेकोमा डेब्युका लागि ‘राम नाम सत्य’ उपयुक्त लागेर साइन गरेको बताए । उनले अगाडि भने, ‘तर मैले राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यु गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका बलियो छ । यसैले साइन गरेको हुँ ।’
फिल्मका निर्देशक माइकल चन्दले भने– ‘आयुष र हामीबीच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरू गर्दैछन् । उनले फिल्मका लागि निकै मेहनत गरिरहेका छन् ।’
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ । फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, अभिनेत्रीहरू दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डिसी, रवि गिरीलगायत कलाकारहरू यसअघि नै अनुबन्धित भइसकेका छन् । अब, एक अभिनेत्री फाइनल गरेपछि कलाकारहरूको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।
फिल्मको निर्मातामा उपेन्द्र शाही र श्वेता विमली, सह–निर्मातामा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय छन् । सञ्जय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गर्ने तयारी छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।